साफ महिला च्याम्पियनसिप

बंगलादेशले रच्यो इतिहास, नेपाल स्तब्ध

काठमाडौं। घरेलु नेपाललाई स्तब्ध पार्दै बंगलादेश छैटाैं साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्न सफल भएको छ। नेपालाई ३–१ गाेलले पराजित गर्ने क्रममा बंगलादेशले साफ च्याम्पियनसिपको पहिलो उपाधि जितेको हाे। 

सन् २०१०, २०१२, २०१४ र २०१९ मा फाइनल  पुगेको नेपाललाई सुरु देखि नै बंगलादेशले दबाबमा राख्यो। सोमबार दशरथ रंगशालामा बंगलादेशका लागि श्रीमाेती सरकारले दुई गाेल गरिन्। बंगलादेशले पहिलो हाफमै २ गोल गर्‍यो। बंगलादेशका लागि १७ मिनेटमा अतिरिक्त खेलाडी शाम्शुनहारले पहिलो गाेल गरेकी थिइन।  ‍उनी ११ मिनेटमा जहान सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

नेपालले ३६ मिनेटमा बराबरीकाे माैका गुमायो। अनिता बस्नेतले बक्सबाहिरबाट हानेको फ्रिकिकलाई बंगाली गोलकिपर रूप्ना चम्काले पञ्च गर्दै बाहिर पठाइन्। ४१ मिनेटमा बंगाली कप्तान सविना खातुनको पासमा श्रीमोती सरकारले गाेल गरिन्। उनले गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगको ‘वान भर्सेस वान’ को अवस्थामा गोल गरिन्।

नेपालले दोस्रो हाफमा अनिता केसीको स्थानमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई मैदानमा प्रवेश गराएको थियो। नेपालले  ७० मिनेटमा गोल फर्‍कायो। नेपालका अमिसा कार्कीले दिएको पासमा डिबक्सभित्रबाट दोस्रो बार च्यापेर अनिता बस्नेतले उत्कृष्ट गाेल गरिन्। 

बंगलादेशले ७७ मिनेटमा तेस्रो गोल थप्यो। श्रीमोती सरकारले पुन: अर्को गाेल गरेपछि नेपालले फर्किने माैका पाएन। 

प्रतिक्रिया