फेला पर्यो १८ लाख वर्ष पुरानो मानव दाँत

काठमाडौं। जर्जियाको पुरात्तत्व तथा प्रागैतिहासिक कालको राष्ट्रिय अनुसन्धान केन्द्रले राजधानी तिब्लिसीदेखि सय किलोमिटर दक्षिण–पश्चिमस्थित उरोजमानी गाउँ नजिक एउटा प्राचीन दाँत फेला परेको बताएको छ। उरोजमानीको प्राचीन खण्डहरमा पाषण युगको औजार तथा जनावरको अवशेष पहिले पनि फेला परेको हो। तर, पहिलो पल्ट मानवजातिको अवशेष फेला परेको हो। 

उरोजमानी गाउँ दमानीसी शहरको नजिक पर्छ, जहाँ १९९० को दशकको अन्त्य तथा २००० दशकको सुरुवातमा १८ लाख वर्ष पुरानो मानव टाउको फेला परेको थियो। 

पुरात्तत्वविद्का अनुसार हालै दमानीसीदेखि २० किलोमिटर टाढा एउटा मानव दाँतको खोजी दक्षिण काकेशस पर्वतमा पहिलो पुस्ताका मानवहरू बसोबास गर्थे भन्ने कुराको प्रमाण हुनसक्छ।  

dent1

जर्जियाको पुरात्तात्विक र प्रागैतिहासको राष्ट्रिय अनुसन्धान केन्द्रद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उरोजमानी र दमानीसीको क्षेत्र अफ्रिकाभन्दा बाहिर सबैभन्दा पहिलो मानव या प्रारम्भिक मानव बस्तिहरूको केन्द्रको पहिचान हुनसक्छ।’

उत्खनन् दलका प्रमुख गेयोर्गी बेडजिनाशविलीले पत्रकारसँग भने, ‘दाँत जिज्वा र मिज्या’ को आफ्नै परिवारभित्रका थिए।’ दमानीसीमा भेटिएको १८ लाख वर्ष पुरानो २ वटा टाउकोलाई यो नाम दिइएको थियो।

उरोजमानीमा दाँतको खोजी गर्ने बेलायती पुरात्तत्वका विधार्थी ज्याक पर्ट भन्छन्, ‘यो खोजले जर्जिया र यस क्षेत्रमा मात्र होइन, प्रारम्भिक मनुस्यको इतिहासमा पनि प्रभाव पर्ने छ।’ 

उनी नयाँ खोजले मानव इतिहासका लागि जर्जियाको स्थानलाई बलियो पार्ने बताउँछन्। 

विश्वमा सबैभन्दा पुरानो मानव शरीरको खोजी २८ लाख वर्षको थियो। यसलाई इथियोपियामा फेला पारिएको थियो। 
–एपी 
 

प्रतिक्रिया