पाँच वटा विश्व कप खेलेकाे केन्याविरुद्ध नेपाललाई एकदिवसीय शृंखला

काठमाडौं। सन् १९९६ देखि २०११ काे बीचमा पाँच वटा एकदिवसीय विश्व कप खेलिसकेको केन्यालाई नेपालले उसैको भूमिमा ३ वटा एकदिवसीय शृंखलामा पराजित गरेको छ। शनिबार नैरोबीमा भएको दोस्रो खेलमा घरेलु टोलीलाई १७ रनले पराजित गर्ने क्रममा नेपालले ३ वटा एकदिवसीय शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो। पहिलो खेलमा पनि नेपाल ७ विकेटले विजयी भएको थियो। पहिलो खेलमा आसिफ शेख नायक सावित भएका थिए। उनले सतकीय इनिङ खेलेका थिए। 
 
नेपालको जितमा आज दिपेन्द्र सिंह ऐरी नायक सावित भए। उनले ४ विकेट लिएपछि २ सय ३१ रनको लक्ष्य पछ्याउने पालो पाएको केन्या ४६ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १३ रनमा समेटियो। 

नैरोवीको जिमखाना रंगशालामा प्रारम्भिक बलर सोमपाल कामीले पनि ३ विकेट लिए। केन्याका लागि राकेप पटेल ८१ रन बनाउँदै नेपालका लागि घातक सावित हुँदैथिए। उनले ९८ बलमा ८ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमा नेसन ओडियाम्बोले २८ र गेराड मुठीले २० रन बनाए। करण केसी र आदिल अन्सारीले पनि १–१ विकेट बाँडे। 

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए। नेपालले पनि पुरै ओभर खेल्न सकेन। केन्याली बलरसामू दबाब महसुस गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ३० रन बनाउँदै अलआउट भयो। नेपालका लागि देव खनालले ३७ र सोमपालले २६ रनको योगदान गरे। ज्ञानेन्द्र मल्लले २५ रन बनाए। केन्याका नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट बाँडे। 


 

प्रतिक्रिया