तरकारी खेतीले ल्याएको खुशी

“मिहिनेत गरे खेतमै पैसा फल्छ भन्थे, पत्याएको थिइन,अहिले त पैसा नै पैसा”

कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन। विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन। घरमै बसीबसी चौधरीले मनग्य आम्दानी गर्न थालेकी छन्। चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो।  

कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हँुदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बनाएकी छन्। बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्छिन्। 

तरकारी खेतीले वर्ष भरिको घरको खर्च चल्छ। “विगतमा घरखर्च चलाउनकै लागि मजदुरी गर्नु पर्ने बाध्यता थियो”, उनले भने, “तरकारी खेती गर्ने तौर तरिका सिकेपछि यसबाटै सहजरुपमा घर खर्च चल्न थालेको छ, वर्षभरि तरकारी खेती हुन्छ, त्यही तरकारी खेतीले जीवन धानिएको छ।”

चौधरीले वर्षमा तीन पटकसम्म तरकारी रोप्छिन्, जसबाट वार्षिक रुपमा पाँच लाख रुपैंयाँ आम्दानी हुन्छ। हिउँदको समयमा बस्ती नजिकै भएर बग्ने वनहरा नदीको बगरमा बगर खेती गर्छिन्। त्यसबाट दुई लाख जति आम्दानी हुन्छ। तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि दश कट्ठा जग्गाको वार्षिक रुपमा रु १० हजार भाडा तिर्ने गरी लिजमा लिएकी छन्। 

अन्नको जोहो गर्नका लागि स्थानीय बासिन्दाको दुई बिघा जग्गा अधियासमेत उनले कमाउने गर्दै आएकी छन्। “छोरालाई महेन्द्रनगरमा डेरामा राखेर स्तरीय विद्यालयमा पढाउँदै आएको छु”, उनले भनिन्, “तरकारी खेतीको कमाइले सबै धानिएको छ। बिरामी पर्दा, घरको गर्जो टार्न, बालबालिकाको विद्यालयको खर्च चलाउन र अरु कार्यका लागि कसैसँग कमैया मुक्ति पछि हात थाप्नुपरेको छैन, पाखुरी खियाएर, मिहिनेत गरी आम्दानी गर्दै आएको छु, यसमा परिवारले साथ दिँदै आएका छन्”, चौधरीले गर्व गरिन्। 

चौधरीले १३ वर्षको उमेर छँदै चार वटा जमिन्दारको घरमा कमैया बसेर काम गरेकी थिईन्। दत्तरामजस्तै बस्तीका २० मुक्तकमैया परिवारले बर्सातमा काँक्रा, लौका, बोडी, भिन्डीलगायतको तरकारी खेती गर्दछन्। 

हिउँदमा दुई पटक काउली, बन्दागोभी, टमाटर, लौका, खुर्सानी, हरियो सागपातलगायतको तरकारी रोपेर आम्दानी लिन्छन्। जेठ, वैशाखमा प्लाष्टिकको टनेलभित्र काँक्रो रोप्ने गरेका छन्। माघ महिनादेखि जेठको अन्त्यसम्म नदीको बगरमा लौका, फर्सी, काँक्रो, तरभुजा खेती गरेर आम्दानी लिन्छन्। 

“तरकारी खेती गरेर यति धेरै आम्दानी हुन्छ भन्ने पहिला थाहा थिएन”, सैवनिया वडायकले भने, “परिवारका श्रीमान श्रीमती दुवै जना मजदुरीमा जाने गरेका थियौँ, त्यसबाट दैनिक खर्च चलाउनसमेत निकै समस्या हुन्थ्यो, कुनै दिन मजदुरी नपाइदा भोकैसमेत बस्नुपर्ने अवस्था आइलाग्दथ्यो।” 

“पुनः स्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा बालुवा मिश्रित माटो भएकाले अन्न फल्दैनथ्यो, कुन माटोमा कुन बाली सप्रिन्छ भन्ने कुरा तत्कालीन कृषि विकास कार्यालयले दिएको तालिममा सिक्यौँ”, उनले अनुहार हँसिलो पार्दै भने, “त्यस पछि तरकारी खेती गर्न थाल्यौँ। तरकारी खेती गर्न थालेपछि पैसाले हात कहिल्यै रित्तो भएको छैन। विगतको जस्तो मजदुरी खोज्दै जानुपर्ने पनि छैन।” 

“मिहिनेत गरे खेतमै पैसा फल्छ भन्थे, पत्याएको थिइन्, थोरै जग्गामा दैनिक मिहिनेत गर्छौं, तरकारी फल्छ, बेच्छौँ, पैसा नै पैसा हुन्छ”, उनले भने।  तरकारी खेती गर्नमा निपुण भएपछि वर्षभरिनै यसै खेतीलाई निरन्तरता दिँदै आएकी जानकारी रानाले वर्षमा चार पटक तरकारी खेती गर्दै आएको बताउँछिन्।

“पहिला घरमा पैसाको समस्या परे साहु महाजनसँग गुहार्नु पर्दथ्यो”, उनले भनिन्, “अहिले आफैं कमायो, खर्च गर्यो, भविष्यका लागि रकम बचत गर्यो, कुनै रोक तोक छैन, साहु महाजनसँग कर्जा माग्न जाने झन्झट छैन। के लगाउन, के खाउँ भन्ने पनि छैन, तरकारी बेचेर आएको पैसाले घरको सबै खर्च चलेको छ ।”

बगरमा उत्पादित तरकारी गहुँलगायतका अन्नसँग साटेर लिने भएकाले अन्नको अभाव नहुने बरु बढी भएको अन्न बेचेर अरु कार्यका लागि खर्च गर्दै आएको उनले बताईन्। गएको एक महिनामै काँक्रो मात्रै बिक्री गरेर रु २५ हजार बढी आम्दानी गरेको विमल रानाले बताए।

“मौसमी तरकारी खेतीमा बजारमा निकै प्रतिस्पर्धा हुने भएकाले मूल्य कमै पाइन्छ”, उनले भने, “बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ। प्रतिस्पर्धा कमै हुने भएकाले आम्दानी चाहेअनुसारकै हुन्छ।”

बस्तीका व्यावसायिक तरकारी खेतीमा संलग्न मुक्तकमैया कोही पनि अब मजदुरीमा जाँदैनन्। तरकारी खेतीको कमाइले धेरै परिवारले पक्की घरसमेत निर्माण गरेका छन। केही निर्माण गर्ने तर्खरमा लागेका छन्। 

तरकारी बजारसम्म बोक्नसका लागि सबै जनासँग मोटरसाइकलको व्यवस्था रहेको छ। बाह्रै महिना तरकारी खेती गर्ने थोरै भए पनि बगर खेती गर्नेको सङ्ख्या भने ७० बढी रहने गरेको छ। नगरपालिकको कृषि शाखाका प्रमुख लालबहादुर धामीले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा प्लाष्टिक घर, बीउबिजन, कृषि औजार र यन्त्र उपलब्ध गराइँदै आएको बताए। उनका अनुसार किसानलाई मागअनुसारको बेलाबेलामा तालिमको समेत व्यवस्था गरिँदै आएको छ। 

डकर्मी, कारपेन्टर, प्लम्बिङको सीप सिकेका भने अरु कहाँ अहिले पनि काममा जाने गरेका छन्। तरकारी खेतीमै संलग्नजस्तै अरु सीप सिकेकाले पनि आम्दानी गर्दै आएका छन्। बस्तीमा दुई सय परिवारको बसोवास रहेको छ। रासस

 
 

प्रतिक्रिया