भारतमा आइफोन–१४ उत्पादन  

काठमाडौं। एप्पल आइफोन १४ सिरिजको फोन भारतमा उत्पादन हुने भएको छ। अक्टोबरको अन्त्य तथा नोभेम्बरदेखि ‘मेड इन इन्डिया’ अन्तर्गत आइफोन १४ लाई बजारमा उतार्ने तयारी भएको हो। 

एप्पलले आइफोन १४ सिरिजको फोन उत्पादन भारतमा गर्ने योजनालाई हालै मात्र स्विकृत प्रदान गरेको थियो। रिपोर्ट अनुसार अमेरिका र चीनबीच बढ्दो तनावका कारण एप्पलले भारतलाई विकल्पको रूपमा छनोट गरेको हो। 

वासिङ्टन र बेइजिङबीचको तनाव र चीनमा पछिल्लो समय पूर्ण रूपमा भएको लकडाउनका कारण आइफोन उत्पादनमा मन्दी आएको थियो। 

ब्लुमबर्ग न्युजको रिपोर्ट अनुसार एप्पलले भारतमा निर्माण गर्न लागेको आइफोन १४ का लागि कच्चा पदार्थको सप्लायरसँग काम गरिरहेको छ। यसका लागि कम्पनीले ताइवानको स्पलायर फोक्सकोनसँग कुरा अगाडि बढाएको छ भने चेन्नई बाहिर नयाँ प्लान्ट निर्माण प्रक्रियाको समीक्षा गरिरहेको छ। 

एप्पलले पुरानो योजना अनुसार फोन निर्माणमा हुने ६ देखि ९ महिनाको ढिलाईंलाई रोक्न भारतमा निर्माण योजना अगाडि सारेको हो। 

भारत विश्वको दोस्रो ठूलो स्मार्टफोनको बजार पनि हो। एप्पलले भारतमा आइप्याड एसेम्बल गर्ने योजना पनि बनाएको छ। 
चीनसँग बढ्दो तनावका कारण अमेरिकाले भारत, मेक्सिको र भियतनाममा आफ्नो ब्रान्ड उत्पादनमा केन्द्रित गर्न थालेको विदेशी मिडियाहरूले बताएका छन्।

गत साता निक्केईले आफ्नो रिपोर्टमा दिग्गज कम्पनीका सप्लायरले पहिलो पल्ट भियतनाममा एप्पलको घडी र म्याकबुक उत्पादनका लागि कुराकानी गरेको बताएको थियो। चीनको कोभिड रणनीतिका कारण विश्व व्यापार र अन्तर्राष्ट्रिय सप्लाई चेनमा नराम्रो असर परेको छ। यसै कारण अन्तर्राष्ट्रिय कम्पनीहरू चीनभन्दा बाहिर निस्किने प्रयासमा छन्। 
   
 

प्रतिक्रिया