प्रचण्डका घरबेटीको ठेक्का रद्ध

काठमाडौं। आठ वर्षसम्म पनि बालाजु–ककनी सडक खण्ड निर्माण गर्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी तथा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीको ठेक्का सम्झौता रद्द हुने भएको छ।

जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले मंगलबार शैलुङ कन्स्ट्रक्सन कम्पनीसँगको ठेक्का आदेशलाई निरन्तरता दिन नसकिने भन्दै अर्को आदेश गरेपछि सम्झौंता रद्द हुने तय भएको हो। 

यसअघि जिल्ला अदालत ललितपुरले शैलुङसँगको ठेक्का रद्द गर्ने सरकारको निर्णय अन्तरिम आदेशबाट रोक्का गरेको थियो। न्यायाधीस सीता शर्माको पछिल्लो आदेशसँगै सरकारले गरेको ठेक्का रद्दको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ।

सरकारले गत असारमा ठेक्का रद्द गर्ने निर्णय गरेपछि शैलुङ कन्स्ट्रक्सन कम्पनीले जिल्ला अदालत ललितपुरमा रिट दर्ता गरेको थियो। जिल्ला अदालतको लिखित आदेशममा भएको विवरण अनुसार सन् २०१४ जुनमा शैलुङ र अर्को कम्पनीको जोइन्ट भेन्चरलाई सडक विभागले बालाजु–ककनी सडक खण्ड बनाउन ठेक्का दिएको थियो। ठेक्काको समय दुई वर्ष भएपनि अझै सम्पन्न भएको छैन। यसबीच उनी ७ पल्ट समय बढाउन सफल भएका थिए। अन्तिमपटक बढाइएको अवधिको म्याद ३ चैतसम्म कायम थियो। 

चैतमा म्याद सकिएको र म्याद बढाउन पनि कुनै चासो नदेखाएपछि ५ असारमा  ठेक्का विभागले ठेक्का रद्द गरेको थियो। योविरूद्ध उनी जिल्ला अदालत ललितपुर पुगेका थिए। 

प्रतिक्रिया