प्रधानमन्त्री शेरबहादुर माथि ओलीको आरोप– ‘श्रीमती र सालाहरू अघि सारेर देशमा भ्रष्टाचार’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अघि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। 

पूर्व प्रधानमन्त्री रहिसकेका ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीर समेत गरे। 

काठमाडौंमा मंगलबार आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भने, ‘व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको छ।’ 

ओलीले सत्तारुढ दलका नेताहरुले राजनीति नगरेको उल्लेख गर्दै त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे। राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिएको दावीसमेत गरे। 

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले ‘इन्जोय’ गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गरे। स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाप्रति संकेत गर्दै उनले राजनीतिलाई रमाइलो गर्ने माध्यमको रुपमा लिए पनि त्यस्तो नभएको बताए। 

प्रतिक्रिया