साहित्यकार तथा कलाकार स्मिता घिमिरेको निधन

काठमाडौं। साहित्यकार तथा कलाकार स्मिता घिमिरेको ५४ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनी बोन्मेरो क्यान्सरबाट पिडित थिइन। 

गत फागुनमा ‘हराएका मुस्कान’ उपन्यास सार्वजनिक गरेर चर्चा कमाएकी स्मिता विगत साढे ३ वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन। उनलाई पहिले ब्रेस्ट क्यान्सर भएको थियो। पछि फैलिएर बोन्मेरोसम्म पुगेको हो। 

बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले उपन्यास सार्वजनिक कार्यक्रममा उनको लडाकु स्वभावको खुलेर प्रसंसा गरेकी थिइन। उनी रोग लाग्यो भनेर खुम्चिएर बस्न नहुने भन्दै अरुलाई प्रेरणा दिन्थिन्। 

विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट साइक्लोजीमा स्नातक गरेकी स्मिता सानैदेखि गीत, संगीत तथा कलाको पारखी थिइन। उनले लोकप्रिय संगीतकार दीपक जंगमसँग धेरै अगाडि संगीतको शिक्षा हासिल गरेकी थिइन। 

तर, पहिलो गीति एल्वम सन् २०१३ मा रिलिज गरेकी थिइन। उनले पहिलो एल्वममै कमलमान सिंहसँग काम गरेकी थिइन। उनको केही भिडियो एल्वम पनि सार्वजनिक भएको थियो। 

चित्रकलामा पनि उत्तिकै पोख्त स्मिताले २०७४ सालमा काठमाडौंमा भएको कुमार सानु साँझमा पनि गीत गाएकी थिइन। 

उनको सोमबार साँझ ६ बजेर १५ मिनेट जाँदा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको भाई सिरिश अर्जेलले दृश्य टिभीलाई जानकारी दिए। स्मिताको १ छोरा र १ छोरी छन्। उनको सोमबार राती नै पशुपति घाटमा अन्त्येष्टी गरियो। 


 

प्रतिक्रिया