पोखरा–जोमसोम हवाई सेवा सुचारु, समिट एयरको उडान

काठमाडौं। तारा एयर दुर्घटनापछि अवरुद्ध पोखरा–जोमसोम हवाई यात्रा अढाई महिनापछि मंगलबारदेखि सुचारु भएको छ। 

आज समिट एयरको विमानले पोखराबाट जोमसोमसम्मको यात्रा गरेको सांसद प्रेम प्रसाद तुलाचनले दृश्य टिभीलाई जानकारी दिए। विमान सेवा सुचारु नहुँदा विरामीदेखि पर्यटनसम्मलाई असर परेको भन्दै तुलाचन पुनः हवाई सेवा सुचारु गर्न काठमाडौंमा बसेका थिए। 

‘हवाई सेवा बन्द हुँदा थुप्रै समस्या थियो। अब निरन्तर हुने भयो, हामी ढुक्क भएका छौं, तुलाचनले दृश्य टिभीसँग भने। 

समिट एयरका सुमन थकाली पहिलो दिन विदेशी पर्यटकको समूह लिएर जोमसोम पुगेको बताउँछन्। ‘दिनमा २–५ वटा फ्लाइट हुनसक्छ,’ उनले भने। 

पोखराबाट  उडेको तारा एयरको विमान खराब मौसमका कारण अढाई महिनाअघि जोमसोम नजिकै दुर्घटनाग्रस्त भएको थियो। त्यतिबेला विमानमा सवार सबैको निधन भएपछि हवाई सेवा बन्द गरिएको थियो। 

सांसद तुलाचन बर्खायाममा विमान बन्द हुँदा पर्यटकदेखि स्थानीय सबैलाई गाह्रो परेको बताउँछन्। ‘मुक्तिनाथ यात्रामा हिँडेका सयौं मानिस पोखराबाट फर्किनु पर्ने अवस्था थियो,’ उनले भने, ‘अब समस्याबाट मुक्त हुने छौं।’ 

विमान सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय ठप्प थियो।  
 

प्रतिक्रिया