१० करोड खर्चेको अभिव्यक्ति दिएर फसे प्रचण्ड, निर्वाचन आयोगद्धारा स्पष्टीकरण माग

काठमाडौं। ९ साउनमा आयोजना भएको एउटा कार्यक्रममा गाउँपालिका अध्यक्षको उम्मेदवारले चुनाव जित्न १० करोड रुपैयाँ खर्चेको सार्वजनिक अभिव्यक्ति दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फसेका छन्। उनीसँग निर्वाचन आयोगले ‘स्पष्टीकरण’ सोधेको छ। आयोगले चुनाव जित्न १० करोड खर्च गर्ने गाउँपालिका अध्यक्षबारे जानकारी माग गरेको छ। 
 
प्रचण्डले सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको बताएका थिए। 

प्रचण्डको भनाइप्रति आयोगले ध्यानाकर्षण भएको बताएको छ। 

‘कानुन बमोजिम तोकिएको सीमाभित्र नरही हदभन्दा बढी खर्च गरेकाको लगत संकलन गर्दै गरेको अवस्थामा पूर्वप्रधानमन्त्री समेत रहेका व्यक्तिबाट आएको अभिव्यक्तिलाई प्रमाणको रुपमा लिनसक्ने छ,’ प्रचण्डसँग सूचना मागेको निर्वाचन आयोगले बताएको छ। आयोगले प्रचण्डलाई सोधेको पत्रमा गर्न पाउने खर्चको हदभन्दा ज्यादा रहेकोले कारबाही  गर्नुपर्ने भएकोले सूचना दिन भनेको छ।

‘संचार माध्यममा प्रकाशित प्रसारित तपाईंको अभिव्यक्ति बमोजिम पाएको सूचना अनुसार गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उम्मेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उम्मेदवार बारेको वस्तुगत सूचना आयोगलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ,’ आयोगले भनेको छ। 

प्रतिक्रिया