खेलाडीको गुण तिर्न राउतको ‘अनौठो’ कार्यक्रम 

काठमाडौं। आफ्नो अध्यक्षतामा ब्वाइज युनियन क्लबलाई २०३२ सालमा शहिद स्मारक लिगको उपाधि जिताउन सफल भएका बोध बहादुर राउतले ४७ वर्षपछि क्लबका पूर्व खेलाडीहरूलाई सम्झिएका छन्। 

विगत एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका राउतले शनिबार ठमेलस्थित होटल मस्र्याङ्दीमा क्लबका पूर्व खेलाडीहरूलाई निम्तो गर्दै सम्मान गरे। ‘ऋण तिर्न सकिन्छ, गुण तिर्न सकिन्न’ भन्ने मान्यता राख्ने राउतको निम्तो मान्न भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान श्याम थापालगायत उनको परिवारको उपस्थिति रहेको थियो। 

उनले नै २०३३ सालमा श्याम थापालाई क्लबमा भित्र्याएका थिए। २०३१ सालमा क्लबको अध्यक्ष पदमा निर्वाचित भएपछि राउतको नेतृत्वमा ब्वाइज युनियन ‘बी’ बाट पुनः ‘ए’ मा उक्लिएको थियो भने २०३२ सालमा लिग च्याम्पियन नै भयो। 

त्यतिबेला क्लबबाट खेल्ने ध्रुव क्षेत्री, धन बहादुर बस्नेत, कोमल सापकोटा, बाबुराम गुरुङ, विदुर बिष्ट, नरेन्द्रमान सिंह जस्ता हस्तीहरूको उपस्थिति थियो। 

boys union1

राउतको कार्यकालमा ब्याडमिन्टन र टेबल टेनिसमा भाग लिने महिला खेलाडीलाई पनि सम्मान गरिएको थियो। यस अवसरमा पूर्व मन्त्रीहरू राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदी, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायतको उपस्थिति थियो। 

‘यो कार्यक्रम मैले गुण तिर्नका लागि गरेको हुँ। म अध्यक्ष हुँदा क्लबबाट खेलेर योगदान गर्ने र व्यवस्थापकीय कुराहरूमा सहयोग गर्ने व्यक्तिहरूलाई धन्यबाद भन्नका लागि अमेरिकाबाट आएर कार्यक्रम गरेको हुँ,’ राउतले दृश्य टिभीसँग भने, ‘सबैले आएर कार्यक्रमलाई सफल बनाइदिनु भयो। मैले कमाएको कुरा नै यत्ति हो।’

कार्यक्रममा श्याम थापाले नेपालमा आफूले फुटबल खेल्दाको अनुभव र बोध बहादुर राउतको योगदानको चर्चा गरेका थिए। यस अवसरमा राउतले क्लबलाई पुरानो अवस्थामा फर्काउन सबैसँग अपील गरे। उनले पुरानो अनुभव सुनाउँदा हलमा उपस्थित पुराना साथीहरू भावुक बनेका थिए। 
 

प्रतिक्रिया