कविता र संगीता महाकालीमा बेपत्ता

बैतडी। महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । 

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन्। 

कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता 

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रतिक्रिया