बिहारको राजनीतिका ‘चतुर खेलाडी’ नितिश कुमार

काठमाडौं। छिमेकी भारतको बिहार राज्यमा जनता दल युनाइटेड (जेडियू) अध्यक्ष नितिश कुमार ‘चतुर खेलाडी’ सावित भएका छन्। उनले ९ वर्षमा दोस्रो पल्ट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धनबाट बाहिर निस्किएर सरकार बनाएका छन्। 

१२ जुन २०१३ मा नितिश कुमार भाजपासँगको गठबन्धन परित्याग गर्दै पूर्व मुख्यमन्त्री लालु यादवसँग मिलेर सरकार बनाउन सफल भएका थिए। अहिले फेरि उनले लालुसँगै मिलेर सरकार बनाएका छन्। उनको मुख्यमन्त्रीको पद यथावत रहने छ। 

भारतीय राजनीतिमा आफूलाई अब्बल सावित गरेको भाजपाले विगत ६ वर्षमा ७ राज्यमा अन्य राजनीतिक पार्टीसँग मिलेर सरकार बनायो। तर, प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो सम्बन्ध स्थापित गरे पनि भाजपाले बिहारमा दुई पल्ट धोका पाएको छ। 

भाजपा विपक्षी दलको सरकार उल्टाउन माहिर पार्टी मानिन्छ। तर, बिहारको हकमा त्यस्तो के भयो, जसका कारण उ दुई–दुई पल्ट असफल सावित भएको छ? यो वास्तवमै रोचक विषय बनेको छ। 

सन् २०१३ मा भाजपाले मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गर्दा नितिश  खुसी थिएनन्। तर, उनले बिहारमा राजनीतिक सन्तुलन मिलाउन भाजपासँग हात मिलाए। 

यसपालि नितिश केन्द्रीय मन्त्रिमण्डलमा आफ्नो पार्टीबाट त्यति नै मन्त्रीको प्रतिनिधित्व गराउने चाहन्थे, जति मन्त्री भाजपाको कोटाबाट बने। बिहारमा दुवै पार्टीको समान १६–१६ सांसद छन्। केन्द्रीय मन्त्रिमण्डलमा समान अनुपातमा प्रतिनिधित्व नभएपछि नितिश भाजपासँग असन्तुष्ट देखिन्थे। उनले आफ्नो पार्टीलाई कमजोर बनाउन भाजपा सक्रिय भएको आरोपसमेत लगाए। 

भाजपासँग सम्बन्ध तोडेपछि बुधबार नितिश आठौं पल्ट मुख्यमन्त्री पदको सपथ ग्रहण गर्दैछन्। उनको उप–मुख्यमन्त्रीमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवको पनि सपथ हुँदैछ। सपथ ग्रहण पहिले नितिशले राजद सुप्रिमो लालु यादवलाई फोन गरेका थिए। 

नितिशले ९ वर्षमा तीन पल्ट विभिन्न पार्टीलाई छोड्दै सरकार बनाएका हुन्। उनले २०१३ मा भाजपालाई छोडेर महागठबन्धनसँग मिलेर सरकार बनाए। फेरि २०१७ मा राजदसँग नाता तोडेर भाजपासँग मिलेर सरकार बनाए। अहिले फेरि भाजपा छोडेर राजदलगायत महागठबन्धनसँग मिलेर सरकार बनाउदै छन्। 

 
 

प्रतिक्रिया