सम्झना हिरासतको 

जुलियाले जुटाईदिएकी राष्ट्रिय भाउजू

Gyan Mani Bhurtel

 २६ माघ २०४६!

नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला समितिको कार्यक्रम अनुसार झापाको दक्षिणी क्षेत्र पृथ्वीनगरमा पर्चा छर्ने जिम्मेवारी पाएपछि मेची क्याम्पसको चौरमा घाम तापेर बसिरहेको रमेश तिम्सिनालाई भन्दा तुरुन्तै तयार भो! सँगै छेउको धरानबाट घुम्न आएको पुष्प ढकाल समेत मिसिएपछि तीनवटा साईकल बटुलेर कार्य क्षेत्रतिर लागियो! हिमाली मा. बि. को चौरमा बसेर भेटेसम्मका मानिसलाई पर्चा थमाउँदै–‘फागुन ७ बाट सुरु हुने पञ्चायत विरुद्धको आन्दोलनमा भाग लिन बिर्तामोड आउनु होला’ भन्दै गफ लाउन थालियो! बाटोमा निस्किँदा पुलिसको हुलले छेकेपछि गिरफ्तारीमा परेको आभास भो! पुलिस हुलमध्ये हवल्दारको छातिको नामले हल्का भ्रम राहत पाईयो! नाम थियो– गोबिन्द भूर्तेल!

आह! आफ्नै बन्धु परेछ! त्यसमाथि नाम पनि आफ्नै बाउसँग मिल्दो! छोड्ला भन्ने नकच्चरो भ्रम पाल्दै बोलें म– ओहो! हामी त बन्धु पो परेछौं त! म ज्ञानमणि भूर्तेल! मेरो बुबाको नाम पनि गोबिन्द नै हो नि!

चुप! देश बेच्न हिँड्या छ! बन्धुको साईनो लाउँछ! अब मामा घर जाने हो! बन्धुले छोड्ला भनेको त उल्टि पियर पो देखाईदियो! चौकिको चौरमा लगेर ठिङ्यायो बन्धु हवल्दारले! पक्राउ परेपछि उडेको सातो फर्काउन पानी मागी टोपलेको त एउटा पुलिसले त डन्डा पो देखायो! अब के को पानी माग्नु? राम इज अ गुड ब्वाई भएर बसियो! धन्न एउटा पुलिस दयाराम निस्कियो! पानी दियो! आपतकालीन स्थितिमा त पानी पनि अड्किदो रैछ, निलिएन! वरिपरी हामीलाई हेर्नेको भिड लाग्यो! हामी बच्चामा हेलिकप्टर  हेर्न भेला भएझैँ! 

ओहो! हेर्दा त कलिला देखिन्छन् त! कत्रो हिम्मत देश बेच्ने? राजा फाल्न हिँडेका रे! कोहि राजा फ्याँक्ने देख्थे! कोहि देश बेच्ने! मान्छे पिच्छेका आरोप! बेलुका धानको ट्रकमा साईकल सहित लोड गरेर बन्धु हवल्दारले जिल्ला प्रहरी कार्यालय पुर्याए! पुग्ने बित्तिकै गार्ड कमान्डर जोगेश्वर राय यादवले सोधे– बामी हो? बोली फुट्न मुस्किल थियो! सासले बोलियो–  हैन, हामी त काङ्ग्रेस हौं!

हँ, एकि बात छ!

उनले बुझेको आन्दोलनकारी सबै बामी! काङ्ग्रेस कम्युनिस्ट मतलब थिएन! उनले मात्रै हैन सबै पुलिसले बुझ्ने गाली बामे! पञ्चायत बिरोधी सबै बामे! सबै फटाहा!

कक्षा नौ पढ्दा स्कुलमा ने.बि.संघ भए बापत भोलिपल्ट अञ्चलाधीश अफिसमा दिनभरी ठिङ्गिएको अनि बेला बेला पुलिसको खेदाई र हल्का गोदाई पछिको पहिलो खोर–यात्राबाट आत्तिनु स्वाभाविकै थियो! कुटाइ खाईएला भन्ने त्रास सँगसँगै थियो! छिमेकी असई समलध्वज राईले ‘मेरो छिमेकी भाईहरु हो है! कुटपिट गर्ने हैन नि’ भन्दिएपछि हल्का सास फेरियो! सिपाहीका रूपमा कार्यरत कुमार सिंह डाँगीको सहयोगले हिरासत बसाई झनै सहज बन्यो! तैपनि कुनै कुनै पुलिस त काटेरै खाउँला झैँ गरेर हेर्थे! उनिहरुको नजरमा हामी खतरनाक देश बेचुवा थियौं!

एउटाले आएर हप्कायो– राजा फाल्न हिँडेको बामे! किन गर्नु परेको तात्तो न छारोको आन्दोलन? डरमा केही कमि आउन थालेको थियो! जवाफ दिए– राजा फाल्न हैन! बहुदल ल्याउन हो! नापिस लिखे! बिपिले ल्याउन नसकेको बहुदल तैंले ल्याईस्! रमाइलो लाग्यो! जिस्क्याएँ– बिपि चैं चिन्या हो? चिनेको त हैन! बाजेबाट सुनेको हो! खतरा मान्छे हो रे! मेरो बाजेले भन्या! बाजे पनि उस्कै पार्टीमा हुनुहुन्थ्यो!

हामी पनि त्यै पार्टीका हौं! हाम्रो नेता हो बिपि! हामी काङ्ग्रेस हौं! भोलिपल्ट देखि ‘दाई, के छ खवर? ठीक छ नि!’  भन्नेमा पुग्यो केटो! बामे भनेको गाली हैन! बामपंथी हो! बिस्तारै बामपंथी र काङ्ग्रेस फरक हो भन्ने बुझ्न  थाले पुलिसले!

घरमा खवर पुर्याउन उही बन्धु हल्दार गुहारियो– दाई! घरमा खवर गर्दिनुस् ल! गाई समेत एकहाते छ! घर पुगेर बन्धुले भाई पुष्करलाई सोधेछन्– ज्ञानमणि भुर्तेलको घर यहि हो? घर त यहि हो! तर उहाँ त हिजै बिराटनगर जानु भको छ! भाईले झापाली चतुर्याइँ देखाउन खोज्यो! गयो! बिराटनगर ! पृथ्वीनगरमा पर्चा  छर्दैरैछन्! चन्द्रगढी खोरमा छन्! भात लिएर जानु! बन्धु हवल्दार स्याङ्जाली निस्के!

सुरुमा आत्तिएका हामी अरु आन्दोलनकारी थपिँदै जाँदा हिरासत बसाई रमाइलो बन्दै गयो! त्यसमाथि पुष्पको धराने गफ उर्जा थप्ने खालको हुन्थ्यो! धरानमा मण्डले कुटेको देखि पुलिस खेदेको अनि मौका पर्दा ६ सुते रड बङ्याएर झ्यालबाट भागेकोसम्म गफ दिन्थ्यो! जङ्गलमा आफैंले भरुवा बन्दुक पड्काएर जङ्गल िबँदेल मारेको त सामान्य कुरो थियो उसका लागि! रिभल्वर समेत चलाउन जानेको कुरो सुनाउँथ्यो उ!

होला त नि! धराने केटो! बोलिसक्दा ठटाई सक्छन् भन्ने सुनेको! उसका कुरा नपत्याउने कुरै भएन! उग्र क्रान्तिकारी गफ! पुष्पको गफ र खैनी हाम्रो दिन काट्ने असल मित्र बनेका थिए! हामी तीन अनि मिना सुब्बा(सुपुत्री मच्छेन्द्र केरुङ्ग) समेत चारजनालाई राज्य विरुद्धको अपराध मुद्दा चलाउने भएपछि म्याद थप्न लाने क्रममा बिर्तामोडमा पुलिस समूहसँगै खाना खान बसियो!

हाम्रो दिमागमा खानाको पैसा नतिर्ने र पुलिस फसाउने षड्यन्त्र पसिसकेको थियो! मासुभात दन्काईयो! पुलिसले पैसा तिर्न भनेपछि  सडकमा निस्केर हल्ला मचाईयो ‘हामी त आन्दोलनकारी हौं! भात खाइयो! हामीसँग पैसा पनि छैन! पुलिसले खाएको पनि हामीलाई तिराउन खोज्दैछ!’ वरिपरिका मान्छेले पुलिसलाई घेरेपछि असईले दारा किट्दै पैसा तिरे! निकै ठूलो क्रान्ति सफल गरेको भान भो हामीलाई! क्रान्तिको हावा त्यसबेला खुस्कियो जब फर्कदा हामीलाई बिर्तामोडमा गाडिमै थुनेर उनिहरु मासुभात दन्काएर भोकै दस बजे राती ल्याएर खोरभित्र हुले! गार्ड कमाण्डरले दया गरेर दिएको ग्लुकोज बिस्कुट पानीले निलेर रात कटाईयो!

ईलाम जाने आउने क्रममा अनि हिरासतमै पनि पुलिससँग मित्रवत व्यबहार नै हुन्थ्यो! सामान्य ठट्टा रमाईलो पनि! पुलिसको पेलाईबाट दिक्क भएको बुझेका हामीले कन्काई सिंचाईको ड्राइभरलाई बहुदल आएपछि यस्तो हुन्छ उस्तो हुन्छ भन्दै विभिन्न गफ लाएर आफ्नो पक्षको बनाईसकेका थियौं! महिला हवल्दार आफैं ‘म त शैलजाको (नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्य) कि साथी हो नि’ भन्दै हामीसँग फुस्फुसाउनु हुन्थ्यो! उहाँ पदेन हाम्रो मान्छे! अर्को भनेको बेला नपड्किने थ्री नट थ्री बोकेर बसेको कोक्ल्याँटो सिपाही थान गन्ती मात्रै थियो! रह्यो ओली असईको कुरो, उनी बेला बेला ठिकै बेला बेला सड्किने! ओली भएरै हो कि क्या हो? ठ्याक्कै उखान ओली जस्तै! पसाङ्गिएको काठ जस्तो! कोहिबेला सोझो कोहिबेला बाङ्गो! कुनै बेला मिल्ने कुनै बेला पेल्ने! कन्फ्युजिङ्ग क्यारेक्टर! बेला बेला पुलिस प्रशासन र पञ्चायत आफैंले टिकाए झैँ गफ दिने! प्रचण्डले गणतन्त्र ल्याएको गफ दिए झैँ!

फागुन २२ गते हुनुपर्छ! आन्दोलन लगभग सेलाई सकेको थियो! दाजु भरतले मलाई निरास भावमा भन्नु भएको थियो– तीन बर्ष जालास जस्तो छ केटा! बिहान ईलाम हिँड्ने बेलाको दाजुको निरास स्वरले दिमाग रन्थनिरहेको थियो! बाटोमा पिसाब फेर्न उत्रेको बेला  असई चिमोटें– म यो झाडीबाट हाम्फालेर भागें भने तपाईं के गर्नुहुन्छ?

तपाईं भागेर देखाउनुस्! मैले गर्ने त्यसपछि हो! के गर्छु, थाहा पाईहाल्नु हुन्छ नि! जवाफ अमरिस पुरी स्टायलमा थियो! म सलमान खान हुन खोजें– तपाईंको रिभल्वर निकालेर गाडीको सिटमा राख्नुस्! म भागेर देखाईदिन्छु! असईले त्यसै गरे! मतिर चुनौतीको नजरले हेरे! मैले पुष्पलाई तानेर अलिपर लगेर साउती मारें– पुष्प, ड्राइभर हाम्रै पक्षमा छ! महिला हवल्दार शैलजा दिदिको साथी हाम्रै मान्छे हो! अर्को नपड्किने बन्दुक बोकेर बसेको लिँडे सिपाही हावा चावाको छ! म असईलाई भुल्याउँछु! तिमी त बन्दुक चलाउन जान्ने मान्छे! असईलाई पड्काई देउ! यतैबाट पशुपतिनगर हुँदै  ईन्डिया पसौँ!

पुष्प अचम्म तालले उल्टियो! कालो निलो हुँदै बोल्यो– प्लिज ज्ञानमणि! नजिस्क न! मलाई बन्दुक चलाउन आउँदैन क्या! बित्थाँमा फसिन्छ! सत्यानास! यत्रो दिन देखि धर्मेन्द्र सोचेको केटो त मुकरि पो निस्क्यो! क्रान्ति नायकले नै खुट्टा तानेपछि म लिखुरेको योजनाले वीरगती प्राप्त नगर्ने कुरै थिएन! त्यस्तै भो, मेरो योजनाको असामयिक निधन भो! बत्तिस दन्त देखाउँदै असईतिर फर्कें– हैट ! यस्तो पनि गर्छु त म? जिस्केको पो त! गाडी चढियो! अलि अगाडि बढेपछि उनी बोले– तपाईं फस्नुहुन्थ्यो भुर्तेलजी! बन्दुक लक हुन्छ! यसरी खोलेपछि मात्रै चलाउन सकिन्छ! उनले लक खोलेर ट्रिगर दबाउने तरिका सिकाए! आङ्ग सिरिङ्ग भो! बाल बाल बचिएछ!

अदालत पुगियो! बयान ढिलो भएकोले फर्किन सम्भव भएन! जेल जाने या छुट्ने भोलिपल्ट मात्र थाहा हुने भो! पुलिस कस्टडीभित्र हुले हामीलाई! असईले कोतेलाई बन्दुक राख्न अराएर हिँडे! केहीबेरमा कोते आएर टुलमा राखेको बन्दुक हातमा लिने बित्तिकै प्याट्ट आवाज आयो! केबी सर (नेपाली कांग्रेसका नेता कुल बहादुर गुरुङ्ग) ले चुप लाग्ने ईसारा गर्नु भो सबैलाई! के भयो? हामी बाठा झापालीले कुरै बुझेनौँ! केबी सरको आदेशमा चुप लाग्यौं! भोलिपल्ट बिहान टेनिस कोर्टमा गलामा टायर भिरेर ओहोरदोहोर गर्दै गरेको कोते देखेपछि मात्र था भो! बेलुका बन्दुक पड्केको रैछ! असईले बन्दुक लक गर्न  बिर्सेका रैछन्! सजाय कोतेले पायो!

अघिल्लो रातनै केबी सरले हामीलाई भन्नुभएको थियो– तिमीहरु जस्तो युवा जेल बसेर हुन्न! बाहिर गएर काम गर्नुपर्छ! मैले न्यायाधीशसँग कुरा गरेको छु! तिमीहरु धरौटीमा छुट्छौ! नभन्दै त्यस्तै भो! केबी सरको प्रतिष्ठाले काम गर्याे! न्यायाधीश जित बहादुर कार्कीको बलमा हामी तारेखमा छुट्यांै! जबकि  बोधरीराज पाण्डे नामका न्यायाधीश चैं हामीलाई कोचर्ने सुरमा थिए! अर्को तारेख खेप्नै परेन! बहुदल आईगो! बहुदल आएको (कि ल्याएको?) खुसीमा नारा लाईयो! खुब चिच्याईयो! घोक्रो सुन्निएर पानी समेत निल्न कठिन भएपछि थाहा भो! कतिसम्म चिच्याईएछ!

यता बहुदल आयो!

उता बाउ प्रधानमन्त्री भएको भोलिपल्टै माईती प्रेमले ओतप्रोत जर्मनीको समुन्द्री किनारमा सनबाथ लिँदै गरेकी मेडम घरबार पोई सबै त्यागेर माईती सवारी भो! भाई आए भतिजा आए! आउने क्रम बढ्दै गयो! कति आए? कति गए? बर्णन लायक पनि छैन! बर्णन साध्य समेत छैन! बहुदल ल्याउन चिच्याउने हराउँदै गए! प्रतिकार समितिका सदस्य मौलाउँदै गए! बिपिलाई ढुङ्गा हान्ने बामपंथी पनि ठूला काङ्ग्रेस हुन थाले! किशुनजी, गणेशमानजीको पलायनको कथा ब्यथाको पाटो त बेग्लै छ!

बहुदल पछि गणतन्त्र आयो! जंगलीहरु शहरिया भए! सत्ताको चास्निमा डुबुल्की लाउने क्रममा बाम एकताका नाममा कहिले उखानेसँग मिल्न पुगे भने कहिले गठबन्धनका नाममा गुखानेसँग लेपासिन पुगे! खाए मात्र त हुन्थ्यो नि! हसुर्ने मामिलामा उखाने गुखाने जंगली मधेसी सबैको एकमत भो! अहिले आएर डडेल्धुरे ‘रोटा’ को निकम्मापन र जंगली अङ्कलको नकच्चरो फुर्ति अनि उखान अङ्कलको उदेकलाग्दो मौनताले ०४६ माघ २६ का दिन पृथ्वीनगर चौकीमा हामी उपर ‘देश बेच्न हिँडेको’ आरोप लाउने धारेहातको स्मरण भो! सँगसँगै हामी पञ्चायत विरुद्ध कठिन लडाइँ लड्दै गर्दा बिदेशमा डिस्को नाच्दै गरेकी जुलिया चाङ्ग मार्फत बुहारीको रूपमा भित्रिँदै बुढानिलकण्ठ कि मूल पुरोहित हुँदै हाल मुलुकको डाडुपन्यु खेलाउन सफल  ‘राष्ट्रिय मेडम’ को चर्तिकला देख्दै भोग्दै गर्दा बेच्नु भनेको तराजुमा जोखेर मात्रै हैन रैछ भन्ने ब्रम्हज्ञान प्राप्त भएको छ! आरोप हामीले खेप्यौ! मुलुक बेच्ने अरु नै निस्के!

उसबेलाको कुरो सम्झिदा आङ्ग सिरिङ्ग हुन्छ! यदि पुष्प त्यसदिन त्रसित नभएर मेरो उक्साईमा लागेको भए ओली असईको गोलीबाट मोक्ष प्राप्त गरिने रैछ। अनि हिरासतमा पड्केको बन्दुकले केही फुट मात्रको उचाई लिएको भए हामी मध्ये कसैको ईहलिला समाप्त भएको यो फागुनमा ३४ बर्ष पुग्ने रैछ!

त्यसो भएको भए– कुनै चोकमा या गल्लीमा हाम्रो मुर्ति ठडिएको हुन्थ्यो होला! ३६४ दिन तल कुकुरले तुक्र्याउँथ्यो होला! माथी कौवाले बिष्ट्याउँथ्यो होला! बर्षको एकदिन हामीलाई पानीले पखालिन्थ्यो होला! उसबेलाका प्रतिकार समितिका मण्डले अहिलेका पदिय ठूला काङ्ग्रेस अग्रपंक्तिमा बिराजमान देखिन्थे होला! उसबेला हामी उपर ढुङ्गा बर्साउने भूपू कमरेडहरु गाडीबाट उत्रेर चाबी हल्लाउँदै आसन ग्रहण गर्थे होला! हामीले सुन्न नसके पनि छेउमा बसेर बिपि पढाउँथे होला! काङ्ग्रेस रटाउँथे होला! मण्डले त पदेन काङ्ग्रेस भैहाले! उनले जानेको घोकाउँथे होला! पञ्चायतकालमा   हामीसँग ५० देखि १०० घुस माग्ने हवल्दार खर्दार बैदार भेला भएर कुर्सी ओगट्दै सुशासन र भ्रष्टाचारमुक्त समाजको अर्ति फलाक्थे होला! ‘बिपिले भन्नुभएको थियो .......’ भन्दै घन्टौं बिताईदिन्थे होला! पुराना काङ्ग्रेस पर आलीको डिलमा बसेर खैनी मोल्दै यी र यस्तै अर्ति सुन्दै हुन्थे होलान्!

अनि कुनै गँजडि मुर्ति हाम्रो छेउ आएर खुसुक्क बोल्थ्यो होला– तँ चाँडो मरेर के नापिस्? हेर त! म भर्खरको शहीद पनि तेरै बराबर भएँ! अनि कुखुरा चोरेर भाग्दैगर्दा भिरबाट लडेर मरेको कुनै नकच्चरो छेउमा आएर परिचय दिँदै बोल्थ्यो होला– हेल्लो, म भर्खरैको नयाँ शहीद! तिमी पनि शहीद नै हो?

समारोह सकिन्थ्यो! वरिपरिका हुल एक एक गर्दै घट्दै जान्थे! बेलुका कुनै भट्टीमा पसेर सन्ध्याकालिन आरतिमा काङ्ग्रेस भजन गाउँदै देश निर्माणका सपना बखान्थे होला! धन्न! यस्तो दुर्गति भोग्नुपरेन! त्यसदिन पुष्प त्रशित भैदिएका कारण त्रासले जोगिएको जिन्दगी बिन्दास जिउन पाईएको छ!

जय होस्!
 

प्रतिक्रिया