नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन २०८२

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ समूहबाट वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

महासंघमा झन्डै तीन दशकदेखि आबद्ध घिमिरेले भने,‘म महासंघमा आबद्ध भएको ३० वर्ष भइसक्यो । मेरा समकक्षीहरू अध्यक्ष भएर अवकाश समेत पाइसक्नुभयो । मैले महासंघलाई पर्याप्त समय दिन सकूँ भनेर व्यवसायबाट अलिक ‘रिटायर लाइफ’ भएपछि मात्र इच्छा राखेको हुँ । मेरो उम्मेदवारी ढिलो भएको छ, छिटो होइन ।’

घिमिरेले नेपालको वर्तमान आर्थिक सुस्तताको मुख्य कारण पुराना र अव्यवहारिक ऐन–कानुन भएको औंल्याएका छन् । ‘हामी अझै २०१३ सालका ऐन–कानुन बोकेर हिँडिरहेका छौं, जबकि समय कहाँबाट कहाँ पुगिसक्यो,’ उनले भने, ‘नीतिगत स्पष्टता नभएसम्म लगानीमैत्री वातावरण बन्दैन । अहिले बैंकमा पैसा थुप्रिएर बसेको छ, ब्याजदर घटेको छ, तर कोही पनि लगानी गर्न तयार छैनन् । यो हाम्रो मौजुदा कानुनको त्रुटि हो । ‘उनले आफ्नो टिमको मुख्य प्राथमिकता बाधक देखिएका ऐन, नियम र कार्यविधिहरूको पुनर्लेखन र परिमार्जनका लागि सरकारसँग बलियो पहल गर्ने रहेको बताए ।

महासंघको अध्यक्ष पदमा विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्ष र त्यसभन्दा तलका पदका लागि चुनाव हुन लागेको हो । चैत २९ र ३० गतेका लागि तोकिएको ६०औं वार्षिक साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

घिमिरेले अबको युगमा कागजी प्रक्रियाले मात्र नचल्ने भन्दै महासंघ र सरकारी निकायहरूलाई पूर्ण ‘डिजिटलाइज्ड’ गर्नुपर्नेमा जोड दिए । ‘विश्व डिजिटल युगमा गइसक्यो, हामी अझै करको प्रमाणपत्र लिन १५ दिन धाउनुपर्ने अवस्थामा छौं,’ उनले भने,‘सबै कुरा सिस्टमबाट चल्ने र अनलाइन हुने हो भने भ्रष्टाचार र सुशासनको समस्या आफैं हल हुन्छ । टेबुल–टेबुलमा फाइल बोकेर हिँड्ने प्रथाको अन्त्य हुनुपर्छ ।’

दिनहुँ हजारौं युवा विदेशिने क्रमलाई रोक्न भाषणले मात्र नहुने र यहाँ नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने घिमिरेको तर्क छ । उनले भने, ‘विदेश गएकालाई फर्काउने र यहाँ रहेकालाई आफ्नै माटोमा पसिना बगाउने वातावरण बनाउन नीतिगत शुद्धता चाहिन्छ । सरकारले निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण र सुरक्षा सुनिश्चित गरिदिए पुग्छ ।’

निर्वाचनमा प्यानल बनेपनि चैत ३० पछि महासंघमा कुनै प्यानल नहुने र सबै व्यवसायी एकै ठाउँमा उभिने उनले बताए । ‘आकांक्षी धेरै हुनु प्रजातान्त्रिक पद्धति हो । तर वैशाख १ गतेदेखि हामी फेरि एउटै एजेन्डा र एउटै महासंघ भएर काम गर्छौं,’ घिमिरेले थपे,‘कुनै राजनीतिक दलको जस्तो द्वन्द्व यहाँ हुँदैन । व्यवसायीले कसलाई बढी भरोसा गर्छन् भन्ने गणितीय आधार मात्र यो निर्वाचन हो ।’

श्रेष्ठ समूहमा घिमिरेसँगै एशोसिएटतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उपाध्यक्षका उम्मेदवार छन् । विधानअनुसार श्रेष्ठ स्वतः अध्यक्ष बन्ने हुनाले बाँकी पदका लागि मात्र प्रतिस्पर्धा हुन लागेको हो । घिमिरेले आफ्नो समूहले निजी क्षेत्रका सबै तहका व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लगानीका लागि नीतिगत अस्पष्टता मुख्य चुनौती

घिमिरेका अनुसार नेपालमा सम्भावना भएर पनि मुलुक पछाडि पर्नुको मुख्य कारण नीतिगत सुधार हुन नसक्नु हो । ‘हामी अझै २०१३ सालका ऐन–कानुन बोकेर हिँडिरहेका छौँ, जबकी विश्व डिजिटल युगमा पुगिसक्यो,’ घिमिरेले भने,‘आज बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घटेको छ, तर कोही लगानी गर्न तयार छैनन् । यो नीतिगत अस्पष्टता र लगानीकर्तामा रहेको त्रासको परिणाम हो ।’

उनले आफ्नो टिमको पहिलो काम नै बाधक रहेका ऐन, नियम र कार्यविधिहरू पहिचान गरी तिनलाई समयअनुकूल पुनर्लेखन वा संशोधनका लागि सरकारसँग पहल गर्नु रहेको बताए ।

डिजिटलाइजेसन र सुशासन

घिमिरेले महासंघ र सरकारी प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । ‘कर तिर्ने प्रमाणपत्र लिन १५ दिन धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने,‘सबै प्रक्रिया डिजिटल बनाउन सके फाइल बोकेर टेबुल–टेबुल घुम्नुपर्ने बाध्यता हट्छ र यसले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न ठूलो मद्दत पुग्छ ।’ उनले प्रविधिमैत्री वातावरणले थोरै जनशक्तिबाट धेरै र पारदर्शी काम गर्न सकिने तर्क गरे ।

युवा पलायन रोक्न रोजगारीको ग्यारेन्टी

मुलुकको युवा जनशक्ति ठूलो सङ्ख्यामा विदेशिनु दुखद रहेको भन्दै घिमिरेले यसलाई रोक्न भाषणले मात्र नहुने बताए । ‘पासपोर्ट खोसेर युवा रोकिँदैनन्, यहाँ लगानीको वातावरण र रोजगारी सिर्जना हुनुपर्छ,’ उनले भने,‘स्वदेशी लगानीकर्ता उत्साहित भए मात्र विदेशी लगानी आउँछ र युवाले आफ्नै माटोमा पसिना बगाउने अवसर पाउँछन् ।’

वरिष्ठ उपाध्यक्ष र निर्वाचन प्रक्रियाको स्पष्टता

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार किन नतोकिएको भन्ने प्रश्नमा घिमिरेले महासंघको विधानबारे स्पष्ट पारे । उनका अनुसार कार्यसमिति निर्वाचित भइसकेपछि मात्र वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष (१२ जना महिला निर्वाचित भएमा) को निर्वाचन हुने वैधानिक व्यवस्था छ । आफ्नो समूहमा रामचन्द्र संघाई, किशोर प्रधान, सुरकृष्ण वैद्य, दिनेश श्रेष्ठ र भास्कर राजकर्णिकार जस्ता व्यक्तित्वहरू वरिष्ठ उपाध्यक्षका आकांक्षी रहेको र कार्यसमिति बनेपछि यसको टुङ्गो लाग्ने उनले जानकारी दिए ।

सरकारसँगको सहकार्य र महासंघको भूमिका

घिमिरेले हाल देशमा दुई तिहाईको सरकार भएकाले निजी क्षेत्रले सरकारसँग धेरै अपेक्षा गरेको बताए । मुलुकले आर्थिक रुपमा सम्पन्नता हासील गर्न सरकारले नीतिगत बाधा फुकाउनुपर्ने उनको माग छ । ‘हामी सरकारको आर्थिक सल्लाहकार हौँ । हामी सरकारसँग हातेमालो गर्न तयार छौँ,’उनले भने,‘हामीले व्यवसायीका समस्या र सुझाव समेटेर नयाँ सरकारलाई बुझाउने तयारी गरेका छौँ ।’

उनले आफ्नो प्रतिबद्धता पत्रलाई राजनीतिक दलको घोषणापत्र जस्तो नभई ‘व्यवसायीको बोली’का रूपमा अथ्र्याउँदै निजी क्षेत्रलाई घामपानीबाट जोगाउने बलियो छाता बनाउने संकल्प गरेको जनाएका छन् ।

प्रतिक्रिया