गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १५, घाइतेको सङ्ख्या १२५ पुग्यो


गाजा, २१ साउन : शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन् । 

उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   
 
मन्त्रालयले जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभावमा ७२ घण्टाभित्र आफ्नो चिकित्सा सेवा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ । 

मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले प्रेस सम्मेलन गर्दै भन्नुभयो, “घाइतेहरूका लागि आकस्मिक सेवासुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रियासमेतलाई रोकिएको छ ।” गाजामा औषधीको अवस्था वर्षौंपछि ‘सबै भन्दा खराब’ अभावबाट गुज्रिरहेको अल–किद्राले बताउनुभयो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया