रहेनन् भारतमा ‘म्याराडोना’ को उपनाम पाएका नेपालीमुलका फुटबलर 

काठमाडौं। नेपालीमुलका स्टार भारतीय पूर्व स्ट्राइकर नरेन्द्र थापाको ५७ वर्षको उमेरमा शुक्रबार बिहान भारतको बंगाल राज्यको कोलकातामा निधन भएको छ। 

नेपालमा ब्वाइज युनियन क्लबबाट ४० को दशकमा फुटबल खेलेका थापा शनिबार काठमाडौं आउने तयारीमा थिए। ब्वाइज युनियन क्लबका पूर्व अध्यक्ष बोधबहादुर राउतले २८ साउनमा आफ्नो अध्यक्षतामा क्लबबाट खेलेका खेलाडीलाई सम्मान गर्दैछन्। यसैका लागि थापा शनिबार काठमाडौं आउने तयारीमा रहेको राउतले अमेरिकाबाट दृश्य टिभीलाई जानकारी दिए। 

‘उनको निधनले थप दुःखी बनाएको छ। २८ गते हुने सम्मान कार्यक्रमको कुरा सुनेर उ निकै खुसी र भावुक बनेको थियो। भोलि आउँदै थियो। एक्कासी दुखद् खबर सुन्नु पर्यो,’ राउतले भने। 

थापालाई एक्कासी पक्षघात भएपछि अस्पताल लगिएको तर ढिलो भइसकेको परिवारिक श्रोतले बताएको छ। उनको अन्तिम संस्कार हिमाञ्चल प्रदेशमा गर्ने तयारी हुँदैछ। 

भारतीय फुटबलका दिग्गज श्याम थापापछि सबैभन्दा बढी चर्चामा नरेन्द्र थापा थिए। उनी भारतीय फुटबलमा ‘म्याराडोना’ को उपनामले चिनिन्थे। उनलाई बोधबहादुर राउतले नै नेपालमा फुटबल खेलाउन २०३९ सालमा काठमाडौं ल्याएका थिए। 

‘हामीले झापा गाेल्ड कप तथा धरानमा प्रदर्शनी खेल खेल्दा उ टिमको अभिन्न अंग थियो। काठमाडौंमा बर्थडे कप पनि खेल्यो,’ राउतले भने। 

२२ सेप्टेम्बर सन् १९६४ मा जन्मिएका थापाको अल्पआयुमा भएको निधनप्रति भारतका पूर्व खेलाडीहरूले दुःख व्यक्त गरेका छन्। ‘उनलाई अस्ति भर्खर कोलकाताबाट ट्रेनमा हालेर नेपाल खेल्न ल्याएको जस्तो लाग्छ,’ राउतले दुःख व्यक्त गरे। ४० को दशकमा ब्वाइज युनियनमा श्याम थापा, नरेन्द्र थापा र प्रेम दोर्जीको जोडी उत्कृष्ट मानिन्थ्यो। 

थापाले सानै उमेरदेखि फुटबल खेल्न थालेका थिए। सन् १९८० मा इन्डोनेसियाको जकार्तामा आयोजना भएको एसियन स्कुल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनपछि भारतीय फुटबलको आँखा उनीमाथि परेको थियो। 

यही वर्ष राष्ट्रिय प्रतियोगितामा उनले गरेको प्रदर्शन प्रशिक्षक सर अली हुसेनको आँखामा गडेपछि पञ्जाबको जेसीटी क्लबमा आवद्ध भएका थिए। सन् १९८१ देखि उनको व्यवसायिक फुटबलको सुरुवात भएको थियो। यसपछि उनले पढाई छोडेका थिए। 
२ वर्ष जेसीटीबाट खेलिसकेपछि उनी मुम्बईको मफतलाल क्लबमा आवद्ध भए। सन् १९८३ मा उनले भारतीय राष्ट्रिय लिगमा सर्वाधिक गोल गरे। यसपछि उनको छनोट राष्ट्रिय टोलीमा भएको थियो। 

सन् १९८४ मा भएको नेहरू गोल्ड कपमा उनले इटाली, अर्जेन्टिना, हंगेरी र चीन जस्ता बलिया राष्ट्रविरूद्ध खेल्दै आफ्नो प्रतिभा प्रदर्शन गरे। सन् १९८४ मा कोलकाताको मोहम्मडन स्पोर्टिङ क्लबमा आवद्ध भएका थापाको खेलमा यसपछि झन् बढी निखार आएको थियो। 

सन् १९८६ मा उनी मोहम्मडनको कट्टर विरोधी क्लब मोहन बगान क्लबमा आवद्ध भएपछि पुरानो क्लबका समर्थक रिसले आगो भएका थिए। मोहन बगानले उनी क्लबमा आवद्ध हुँदा फेडरेसन कपको उपाधि जितेको थियो। लगत्तै उनी पुनः मोहम्मडन क्लबमा फर्किए। 

उनको निधनप्रति भारतका पूर्व कप्तान श्याम थापाले पनि गहिरो दुःख व्यक्त गरेका छन्। 
 

प्रतिक्रिया