चीन–ताइवान तनावका बीच नेपालले भन्यो, ‘हामी एक चीन नीतिमा प्रतिबद्ध छौं।’

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्का चार दिनपछि चीनको तीन दिने भ्रमणमा निस्किन लागेको अवस्थामा नेपालले ‘एक चीन नीति’ मा आफू प्रतिबद्ध रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी देश भएको हुनाले अमेरिकी प्रतिनिधि सभा सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले उत्पन्न तनाव शान्तिपूर्ण रूपमा समाधान हुनुपर्ने बताइन्। 

पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रामक बनेको छ। उसले बिहीबार मात्र यो क्षेत्रमा मिसाइल परीक्षण गरेको समाचार सार्वजनिक भएको थियो। 

‘हामी शान्तिप्रेमी राष्ट्र हौं। ताइवान समस्या शान्तिपूर्वक समाधान होस् भन्ने पक्षमा नेपाल छ,’ पत्रकार सम्मेलनमा लम्सालले भनिन्, ‘दुबै राष्ट्रले एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएका छन्। नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ।’ 

चीन र ताइवानबीच देखिएको तनाव बारे परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा कुनै छलफल नहुने उनले जानकारी दिइन्। परराष्ट्र मन्त्री खड्का साउन २४ मा चीन जाँदैछन्। 

प्रतिक्रिया