आगामी चुनावका लागि २७ लाख मतदाता थपिए

काठमाडौं। विगत ५ वर्षभित्र २७ लाख मतदाता थपिएको निर्वाचन आयोगले जानकारी दिएको छ। नेपाल सरकारले २०७९ सालको प्रतिनिधि सभा सदस्य र प्रदेशसभाको चुनाव एकै चरणमा आउँदो मंसिर ४ गते गर्ने निर्णय गरेसँगै नयाँ मतदाता परिचय पत्र लिने प्रक्रिया शुक्रबारबाट बन्द भएको छ। 

२०७४ सालयता २७ लाख ५४ हजार ३०१ मतदाता थपिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएका छन्। २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका बेला सार्वजनिक अन्तिम नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना थिए। ‘वैशाख ३० गतेको स्थानीय निर्वाचनपछि आजसम्म ४ लाख ४८ हजार ५१६ मतदाता थपिएका छन्’, अर्यालले भने। अहिले मतदाता १ करोड ८१ लाख ८२ हजार २३९ पुगेका छन्। 

 

प्रतिक्रिया