युथ–२० साफ च्याम्पियनसिप

तनावपूर्ण खेलमा बंगलादेश फाइनलमा, नेपालको भाग्य मालदिभ्सको हातमा

काठमाडौं। नेपाललाई १–१ गोलको बराबरीमा राख्दै बंगलादेश भारतको भुवनेश्वरमा आयोजना भइरहेको युथ–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। 

गत संस्करणमा फाइनलमा भारतसँग पराजित भएको बंगलादेश अपराजित टोली बन्दै फाइनल प्रवेश गरेको हो भने नेपालको फाइनल पुग्ने सम्भावना भारत र मालदिभ्सबीचको खेलबाट टुँगो लाग्ने छ। यसअघि भारत र नेपालको अंक तालिकामा समान ६–६ अंक थियो तर बढी गोल गरेको आधारमा भारत छनोटको नजिक थियो। 

मंगलबार नै हुने दोस्रो खेलमा मालदिभ्सले भारतलाई पराजित गरेको खण्डमा मात्र नेपाल फाइनल प्रवेश गर्नेछ। जुन लगभग असम्भव मानिन्छ। भारत गत संस्करणको डिफेन्डिङ च्याम्पियन हो। उसले अघिल्लो खेलमा नेपाललाई ८–० गोलले पराजित गरेको थियो। 

आजको खेलमा नेपाल दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफमा तीन खेलाडीले रातो कार्ड पाएका थिए। नेपालका दुई खेलाडी दिपेश गुरुङ र रोहित सुब्बाले रातो कार्ड पाए भने बंगलादेशका साइदुल इस्लामले दुईवटा पहेँलो कार्डको रुपमा रातो कार्ड खाए। 

४८ मिनेटमा बंगलादेशी कप्तान तनवीर सहायक रेफ्रीसँग आक्रोशित भएपछि नेपाली कप्तान आयुष घलान सम्झाउन जाँदा झगडा बढेको थियो। यहीबीच बेन्चमा रहेका खेलाडी पनि मैदानमा उत्रिए। तनावकै बीच हात हालाहाल हुँदा प्रशिक्षक र अफिसियलले झगडा साम्य पार्नु परेको थियो। 

नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशी खेलाडी लड्न पुगेपछि रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए।

बंगलादेशले ६३औं मिनेटमा अग्रता लियो। मोहम्मद रफिकुल इस्लामको क्रसमा मोहम्मद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। उनले भारतविरुज्द्ध २ गोल गरेका थिए। 

५ मिनेटमा नै नेपालले गोल फर्कायो। वैकल्पिक खेलाडी निरञ्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक मोहमद आसिफले बचाउने मौका पाएनन्।
 

प्रतिक्रिया