युथ–२० साफ च्याम्पियनसिप

प्रशिक्षक केसीको परीक्षा, घाइते बाघ नेपाल आज फाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारतसँग अप्रत्यासित ०–८ गोलको नतिजा बेहोरेको दुई पल्टको च्याम्पियन नेपाल मंगलबार आज युथ–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि बलियो बंगलादेशसँग भिड्दै छ। 

गत साफ च्याम्पियनसिपको फाइनलिस्ट बंगलादेशले यसअघि भारत, श्रीलंका र मालदिभ्सलाई पराजित गर्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। उ यसपालिको प्रतियोगितामा अहिलेसम्मको एक मात्र अपराजित टिम हो। 

मिराजुल इस्लाम र पियास अहमद नोभा जस्ता प्रतिभाशाली खेलाडी रहेको बंगलादेशले श्रीलंकालाई १–०, भारतलाई २–१ र मालदिभ्सलाई ४–१ गोलले पराजित गरेको थियो। मिराजुलले मालदिभ्सविरूद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन्। उनले हालसम्म ४ गोल गरिसकेका छन्। नोभाले भारतविरूद्ध २ गोल गरेका थिए। 

भारतसँग ०–८ को फराकिलो हार बेहोरेको नेपाली खेलाडीहरू आज घाइते बाघ जसरी बंगलादेशविरूद्ध उत्रिने सम्भावना प्रबल छ। किनभने आजको खेलले प्रशिक्षक मेघराज केसीको भविस्य सुनिश्चित गर्नेछ। उनले भारतविरूद्ध लज्जास्पद पराजयको जिम्मा आफूले लिँदै नेपाल फाइनल नपुगेको खण्डमा पदबाट राजीनामा गर्ने बताइसकेका छन्। 

भारतविरूद्धको खेलमा नेपाली डिफेन्स लाइन निकै कमजोर देखिएको थियो। अझ, गोलकिपरको प्रदर्शन आशा अनुरुप थिएन। बंगलादेशविरूद्ध आज नेपाली टोली मैदानमा उत्रिँदा यी कुरामा विशेष ध्यान दिनुपर्नेछ। बंगलादेश क्रस पास र भली खेल्न माहिर देखिएका छन्। 

नेपालले साफ च्याम्पियनसिपको अघिल्लो संस्करणमा बंगलादेशलाई २ पल्ट पराजित गरिसकेको छ। सन् २०१५ र २०१७ मा प्रतियोगिताको उपाधि जित्दा नेपालले दुवै पल्ट बंगलादेशलाई समूह चरणको खेलमा २–१ गोलकै समान स्कोरमा पराजित गरेको थियो। 

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ बजेर १५ मिनेटमा हुनेछ। यस्तै, डिफेन्डिङ च्याम्पियन भारतले प्रतियोगिताको सबैभन्दा कमजोर देखिएको मालदिभ्सविरूद्ध ७ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ। यी दुवै खेलबाट शुक्रबार हुने फाइनल खेलका लागि टोलीको चयन हुनेछ। 
 

प्रतिक्रिया