युथ–२० साफ च्याम्पियनसिप

नेपाललाई आज भारतलाई जित्दै फाइनल पुग्ने अवसर

काठमाडौं। युथ–२० साफ च्याम्पियनसिपअन्तर्गत डिफेन्डिङ च्याम्पियन भारतलाई उसैको मैदानमा पराजित गर्दै फाइनलतर्फको यात्रा गर्ने सूवर्ण अवसर छ नेपालको। आज आइतबार नेपालले समूह चरणको तेस्रो खेल नेपाली समयअनुसार राती ७ बजेर १५ मिनेटमा खेल्दै छ। 

दक्षिण भारतको भुवनेश्वरमा हुने यस खेलमा विजयी भएको खण्डमा लगातार ३ खेल जितेर नेपाल फाइनलमा प्रवेश गर्नेछ भने भारत प्रतियोगिताबाट बाहिरिने छ। नेपालले यसअघि २ खेलमा प्रभावशाली प्रदर्शन गरिसकेको छ। 

नेपालले मालदिभ्सलाई पहिलो खेलमा ४–० ले पराजित गरेको थियो। दोस्रो खेलमा गोर्खाली टोलीले श्रीलंकालाई ३–० ले हरायो। भारत पहिलो खेलमा बंगलादेशसँग १–२ गोलले पराजित भएको थियो। उसले शुक्रबार भएको दोस्रो खेलमा भने श्रीलंकालाई ४–० ले पराजित गर्ने क्रममा आफू लयमा फर्किएको छनक दिएको छ। 

नेपालले यसपालि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसैले दुई पल्टको च्याम्पियन नेपाललाई प्रतियोगिताको प्रमुख दावेदारको रूपमा हेरिएको छ। नेपालले सन् २०१५ र २०१७ मा भएको पहिलो र दोस्रो संस्करण जितेको थियो। सन् २०१९ मा काठमाडौंमा भएको तेस्रो संस्करणमा भुटानसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको थियो। 

यसपालि बंगलादेश ३ खेल जितेर प्रतियोगिताको फाइनल पुगिसकेको छ। बंगलादेशले भारत, श्रीलंका (१–०) र मालदिभ्स (४–१) पराजित गर्दै ९ अंक बटुलेर फाइनलको यात्रा गरिसकेको छ। समूह चरणको अन्तिम खेल नेपालसँग मंगलबार खेल्ने छ। 

नेपाल आजको खेलमा विजयी भएको खण्डमा फाइनलमा पनि नेपाल र बंगलादेशको भिडन्त हुनेछ। 

प्रशिक्षक मेघराज केसीले यसअघि नै आफू उपाधि जित्न आएको बताइसकेका छन्। उनले समूूह चरणको सबै टोली आफ्नो लागि उत्तिकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए। 

नेपाल र भारतबीच यो प्रतियोगितामा दुई पल्ट महत्वपूर्ण अवसरमा भिडन्त भइसकेको छ। दुवै पल्ट नेपाल विजयी भएको थियो। सन् २०१५ पहिलो संस्करणको फाइनलमा पहिलो पल्ट भिडेका यी टिमले निर्धारित समयको खेल १–१ गोलको बराबरीमा खेलेका थिए। पेनाल्टीमा नेपाल ५–४ गोलले विजयी हुँदै उपाधि जित्न सफल भएको थियो। 

यस्तै, २०१७ मा लिगको महत्वपूर्ण स्पर्धामा नेपाल २–० ले विजयी भएको थियो। नेपालले यसपालिको प्रतियोगितामा विपक्षी टोलीबाट गोल खाएको छैन। यस्तै, ७ गोल गरिसकेको छ। भारतले पराजित खेलमा पनि गोल गरेको छ। भारतको पनि यो तेस्रो खेल हो। उसले अन्तिम खेल मंगलबार मालदिभ्सविरूद्ध खेल्दै छ। 

प्रतिक्रिया