कतारमा कुन देशको टिम कहाँ बस्दैछ?

काठमाडौं। पहिलो पल्ट खाडी राष्ट्र कतारमा आयोजना हुन लागेको फिफा विश्व कप फुटबल प्रतियोगितामा भाग लिने ३२ टिम बसोबास गर्ने र उनीहरूले ट्रेनिङ गर्ने ठाउँ फिफाले सार्वजनिक गरेको छ। 

२१ नोभेम्बरदेखि १८ सेप्टेम्बरसम्म आयोजना हुने विश्व कपका लागि इङ्ल्याण्डको टिमले अल्कोहल–फ्री बीच रिसोर्टको छनोट गरेको छ। जर्मनी वेलनेस रिट्रिटमा बस्ने छ भने बेल्जियमको टिम वाटर पार्कमा हुनेछ। 

प्रतियोगितामा सहभागी हरेक टिमलाई आवासका लागि विकल्प दिइएको थियो। सबैले राम्रो निरीक्षण गरेर आफू बस्ने ठाउँको विकल्प छनोट गरिसकेका छन्। इङ्ल्याण्ड, जर्मनी, बेल्जियम, पोर्चुगल जस्ता अधिकांश टिमले राजधानी दोहा र नजिकैको स्थान छनोट गरेका छन्। ३२ मध्ये २४ टिमले आफू नजिकै १० किलोमिटरको दूरीमा बसोबास गर्ने ठाउँ खोजेका छन्। 

यसमध्ये इङ्ल्याण्ड दोहाभन्दा १० माइल दक्षिणमा पर्ने अल–वकराहस्थित अल–वकरा होटलमा बस्ने छ। यो पाँच तारे रिसोर्ट हो भने समुन्द्र नजिकै पर्छ। तर, खेलाडीले यहाँ बस्दा मधपान गर्न पाउने छैनन्। इङ्ल्याण्डले यो ठाउँ यस कारण छनोट गरेको हो, उसको १० मध्ये ८ खेल यही हुँदैछ। 
यसैगरी वेल्सको टिम दोहाको डेल्टा होटल सिटी सेन्टरमा रहने छ। जुन अक्टुबरसम्म खुल्ने जनाइएको छ। यहाँ अन–साइट स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर, स्पेनिस रेष्टुरान्ट हुनेछ। 

बेल्जियमको रिसोर्ट सबैभन्दा आकर्षक छ। हिल्टन सल्वा बीचमा भएको यो रिसोर्टमा थीम पार्क छ। यहाँ ५४ राइडर्स भएको वाटर एडभेन्चर पार्क, स्कुबा डाइभिङ र गो–कार्टिङ छ। 

जर्मनी टिम बसोबास गर्ने जुलाल वेलनेस रिसोर्टमा थुप्रै  हेल्थ ट्रिटमेन्ट उपलब्ध छ। यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रान्स दोहाको अल–मेसिला होटलमा बसोबास गर्नेछ, जुन अरेबियन स्टाइलको डिजाइनका लागि चर्चित छ। यसको एक रातको भाडा मात्र डेढ लाख रुपैयाँ छ। यसमा ३० प्राइभेट पुल छ। 

ब्राजिलले वेस्टिन दोहा होटल छनोट गरेको छ। जुन हरेक रंगशालाभन्दा औसत १७ मिनेट ड्राइभमा पर्छ। यो सिटी सेन्टर होटलमा ४ वटा रेस्टुरान्ट, तीन स्विमिङ पुल र एउटा फिटनेस सेन्टर छ। अर्जेन्टिना र स्पेनले कतार विश्वविद्यालयलाई आफ्नो बसोबास गर्ने विकल्पको रूपमा छनोट गरेका छन्। तर, यसको वरिपरी ट्रेनिङ सेन्टर छ। परिषरमा ५२ फुड र कफी बारको विकल्प छ। 
 

प्रतिक्रिया