युथ–२० साफ च्याम्पियनसिप

श्रीलंकासँग पहिलो पल्ट भिड्दै नेपाल

काठमाडौं। मालदिभ्सलाई ४–० ले पराजित गर्दै युथ–२० साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको नेपाल बुधबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। 

श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग ०–१ ले पराजित भइसकेको छ। नेपालका लागि आज श्रीलंकालाई पराजित गर्दै फाइनलतर्फको यात्रालाई थप सहज बनाउने अवसर हुनेछ। यद्यपि त्यो पर्याप्त हुने छैन। नेपालले बलियो बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्न बाँकी नै छ। 

नेपाल साफ च्याम्पियनसिपको बलियो टोली हो। नेपालले सन् २०१५ र २०१७ मा भएको प्रतियोगिता लगातार दुई पल्ट जितेको थियो। सन् २०१९ मा भएको तेस्रो संस्करणमा भने लिग चरणबाटै बाहिरिएको थियो। यतिबेला भारत विजयी भएको थियो। 

यो प्रतियोगितामा नेपाल र श्रीलंकाको अहिलेसम्म भिडन्त भएको छैन। नेपाल र भुटानमा भएका पहिलो र दोस्रो संस्करणमा श्रीलंकाले भाग लिएको थिएन। तेस्रोमा भाग लिए पनि उ नेपालको समूहमा थिएन। 

नेपाली प्रशिक्षक मेघराज केसीले साफ च्याम्पियनसिपमा श्रीलंकासँग पहिलो पल्ट खेल्न लागेको बताए। उनले आज पनि ३ अंक बटुल्ने नै आफ्नो योजना हुने जानकारी दिएका छन्। ‘विपक्षी टोलीको विषयमा हामी अनभिज्ञ छौं। तर, हाम्रो लक्ष्य जित हो,’ उनले भने। 

आयुष घलानको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा पुरै लयमा देखिएको थियो। यसपालि पाकिस्तान र भुटान सहभागी नभएको हुनाले प्रतियोगिता पुनः सिङ्गल राउन्ड रविनको आधारमा हुँदैछ। आज नेपालको खेल ७ बजेर १५ मिनेटमा हुनेछ। 

 
 

प्रतिक्रिया