आयुषको प्रेरणादायी प्रदर्शनमा नेपाल फराकिलो अन्तरले विजयी

काठमाडौं। दोस्रो हाफमा तीन गोल गरेपछि उपाधिको दावेदार नेपालले भारतमा सोमबारदेखि सुरु भएको युथ–२० साफ च्याम्पियनसिपको पहिलो खेलमा मालदिभ्सलाई ४–० गोलले पराजित गरेको छ। 

नेपालको जितमा दिपेश गुरुङले ४२, सुगम सुवालले ५७, कृतिश रत्नाले पेनाल्टीमार्फत ६१ मिनेटमा र मनग्य नकर्मीले निर्धारित ९० मिनेटपछि थप भएको अतिरिक्त समयको चौथो मिनेटमा गोल गरेका थिए। 

दिपेशले माल्दिभ्सका गोलकिपर सैहन अलीले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। कप्तान आयुष घलानले हानेको फ्रिकिक अलीले पञ्च गरेर क्लियर गर्न खोजे पनि दिपेशले ३४ यार्डमा नियन्त्रणमा राख्दै गोल गरेका थिए। 

माल्दिभ्सका डिफेन्डरले आयुषलाई डिबक्सभित्र लडाएपछि नेपालले ६१ मिनेटमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो। जसलाई कृतिशले गोलमा परिणत गरे। 

नेपालले अर्को खेल बुधबार श्रीलंकाविरूद्ध खेल्ने छ। 

प्रतिक्रिया