मालदिभ्ससँग ३ अंक बटुल्ने नेपालको योजना

काठमाडौं। उमेर समूहको फुटबलमा दक्षिण एसियामा सधै दाबेदार मानिएको नेपाल सोमबा भारतको भूवनेश्वरमा युथ–२० साफ च्याम्पियनसिपको पहिलो खेल खेल्न उत्रिदैछ। आयुष घलानको कप्तानीमा रहने नेपालको पहिलो खेल माल्दिभ्ससँग दिउँसो ४ बजेर १५ मिनेटबाट सुरु हुँदैछ। 

नेपालका लागि आजको खेल जितेर ३ अंक जोड्ने सुनौलो अवसर छ। सिङ्गल राउण्ड रबिनको आधारमा हुने प्रतियोगितामा नेपाल बलियो मानिन्छ। नेपालले सन् २०१५ र २०१७ मा गरी २ पल्ट उपाधिमा कब्जा जमाएको थियो। ३ वर्षअघि काठमाडौं भएको तेस्रो संस्करणमा हयाट्रिक गर्ने अभियानबाट नेपाल चुकेको थियो। त्यो प्रतियोगिता भारतले जित्यो। नेपाल समूह चरणको खेलबाटै बाहिरिएको थियो। 

यसपालि नेपाल र माल्दिभ्ससँगै, डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश र श्रीलंका संलग्न छन्। 

उमेर समूहको खेलमा माल्दिभ्स त्यति बलियो मानिदैन। नेपालसँगको उसको अहिलेसम्मको राम्रो प्रदर्शन भनेको सन् २०१९ मा काठमाडौंमा भएको तेस्रो च्याम्पियनसिपमा १–१ गोलको बराबरीमा रोक्नु हो। यतिबेला माल्दिभ्स सेमिफाइनलसम्म पुगेको थियो। 

नेपाली प्रशिक्षक मेघराज केसी उमेर समूहमा नेपालको प्रदर्शन राम्रो भएको र यसपालि टिम बलियो भएको बताउँछन्। उनी प्रतियोगिता जित्ने उद्देश्यका साथ आफूहरू भुवनेश्वर आइपुगेको र आजको खेलमा ३ अंक बटुल्ने लक्ष्य रहेको दावी गर्छन। 

‘हामी यहाँ जित्न आएका हौं। जितका लागि तयारी गरेका छौं,’ उनले माल्दिभ्सविरूद्ध खेल अगाडि प्रेस कन्फ्रेन्समा बताएका छन्। 

नेपाली कप्तान घलानले पनि माल्दिभ्सलाई जितेर ३ अंक बटुल्ने उद्देश्यका साथ आफूहरू मैदानमा उत्रिने बताउँछन्। 

नेपाली टोलीमा आयुषसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ऋतिशरत्न छुन्जु र आशिष राई पनि समावेश छन्। 
नेपालले साफ च्याम्पियनसिपअन्तर्गत सन् २०१७ मा उपाधि जित्दा मालदिभ्सलाई २–० ले पराजित गरेको थियो। ‘आज पनि हाम्रो उद्देश्य तीन अंक बटुल्ने हुनेछ,’ कप्तान आयुष भन्छन्। 

नेपालले ११ साउनमा श्रीलंका, १५ मा भारत र १७ मा बंगलादेशसँग खेल्ने छ। फाइनल खेल २० साउनमा हुँदैछ।  

नेपाली टिम:

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी

प्रतिक्रिया