थापा गुटको भाँडभैलोका कारण एन्फा बैठक स्थगित

काठमाडौं। फिफाद्वारा भ्रष्टाचारको मुद्दामा १० वर्ष प्रतिबन्ध झेलिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा गुटको भाँडभैलोका कारण बिहीबार हुने भनिएको केन्द्रीय समितिको बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ। थापा आफ्ना छोरा गौरव थापालाई एन्फाको सीइओ नियुक्त गर्न जोडबलका साथ लागेका थिए। यसअघि २ साउनमा तय गरिएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्पताल भर्ना भएपछि स्थगित भएको थियो। त्यसको सट्टा आज तय गरिएको बैठकमा फुटबल विकाशलगायत १८ वटा एजेन्डा समावेश थिए।

तर, फुटबल बिकासको एजेन्डाभन्दा पनि गणेश थापाको छोरा गौरवलाई नियुक्ति दिनुपर्ने कुरामा विवाद बढेपछि बैठक स्थगित भएको हो। 

गणेश थापाको भ्रष्टाचार मुद्धामा आफू पनि कार्यवाहीमा पर्न सक्ने डरले गौरव एसियाली फुटबल महासंघ (एएफसी) को जागिर छोडेर नेपाल फर्किएका व्यक्ति हुन्। उनको मलेसियास्थित विदेशी अकाउन्टबाट १ लाख अमेरिकी डलर बुवा गणेश थापाको अकाउन्टमा ट्रान्सफर भएको मुद्धाकै कारण फिफाले थापालाई कार्यवाही गरेको थियो। गौरवको विषयमा फिफा सकारात्मक नभएको अवस्थामा नेपाली फुटबल नै कार्यवाहीमा पर्ने डरले अध्यक्ष नेम्वाङ हतारोमा निर्णय गर्न बच्दै आएका छन्। तर, गणेश थापा गुटले उनलाई दिनुहँ दबाब दिइरहेको फुटबल सम्बद्ध श्रोतले दृश्यटिभीलाई बतायो। 

‘अध्यक्षज्यूलाई ट्रयापमा पारेर निर्णय गर्न खोजिदै छ। यसले नेपाली फुटबल प्रतिबन्धतिर धकेलिने सम्भावना प्रबल छ,’ एक केन्द्रीय सदस्यले दृश्यटिभीसँग भने। बिहीबार बैठक सुरु भएपछि अध्यक्ष नेम्वाङले  उपस्थिति सदस्यहरूलाई हाजिर गर्न आग्रह गरेका थिए। तर, थापा गुटका सदस्यहरूले हाजिर सामान्य कुरा भएको भन्दै सिधै एजेन्डामा प्रवेश गर्न दबाब दिएका थिए। 

‘आज उनीहरू गौरवलाई सिइओ नभए पनि सहायक महासचिवमा नियुक्त गर्ने आशयका साथ आएका थिए,’ ती सदस्यले भने।  

प्रतिक्रिया