प्रचण्डलाई किन पत्याउँदैनन् विप्लव ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलग्गिएका पुराना माओवादी नेतालाई आफ्नो नेतृत्वमा समेट्ने अभियानमा लागेका छन्। उनले हालै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग यस बिषयमा वार्ता गरिसकेका छन्। बुधबार यी दुइ नेतावीच नयाँ नाम दिएर पार्टीहरु नै आपसमा विलय गराउने बारेमा चर्चा भएको थाहा भएको छ। 

प्रचण्डले पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन भट्टराईसँग प्रस्ताव गरेका थिए। भट्टराईले भने आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका थिए।

दुइ नेतावीचको भेटको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले पुष्टि गरेका छन्। मल्लका अनुसार प्रचण्ड केही दिनदेखि भट्टराईसँग छलफलमा छन्। 

यसैगरी नेत्र विक्रम चन्द विप्लवसँग पनि प्रचण्डले एकताको प्रस्ताव गरेको बुझिएको छ। तर विप्लवले यसमा कुनै प्रतिक्रिया नजनाएको उनी निकट सूत्रले बतयो। आफू कमजोर भएका बेला एकताको प्रस्ताव गर्नु र नयाँ नयाँ सपना देखाउनु प्रचण्डको आदत रहेको बुझिसकेका कुनै पनि नेता अब यस्ता भुलभुलैयामा नपर्ने विप्लव निकट सूत्रले बतायो।

सम्वाद पनि गर्दै अरु वामपन्थी पार्टीका नेता कार्यकर्ता पनि ‘चोर्दै’ प्रचण्डले अरुलाई कमजोर पार्ने दाउपेच गरिरहेको बताईन्छ।

नेकपा एमालेसँगको सम्वाद त्यति लाभदायी नभएपछि प्रचण्डले अरु वामपन्थी दलतिर फर्किएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौं आउनु अघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिडियो वार्ता गरेका प्रचण्ड त्यसपछि नयाँदिल्लीको दौडाहामा गए। नयाँदिल्लीबाट फर्किए लगत्तै उनी ससाना वामपन्थी दल खासगरी पुराना माओवादी समूहसँग सम्वाद गर्न क्रियाशील देखिन्छन्। अलग्गिएका धार मध्ये विप्लव समूह तुलनात्मक रुपमा महत्वपूर्ण समूह मानिएकाले पनि प्रचण्डले उसैसँग एकताको प्रस्ताव गरेको बुझ्न सकिन्छ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा सत्ता गठबन्धनवीच तालमेल हुने निर्णय गरेको छ। यसपछि प्रचण्ड र माधवकुमार नेपाल कसरी अगाडि बढ्ने भन्नेमा निकै अप्ठेरोमा परेको देखिन्छ। 

प्रतिक्रिया