लोकदोहोरी गायिका दिलमायाको हत्यामा उनकै प्रेमी संलग्न भएको प्रहरीको ठहर

काठमाडौं। लोकदोहोरी गायिका दिलमाया सुनारको हत्यामा दिलबहादुर श्रेष्ठ दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ। ११ असार शनिबारको दिन तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको लास झण्डिएको अवस्थामा फेला परेको थियो। शुक्रबार राती उनको फेसबुकमा ‘सुसाइड नोट’ फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए। 

तर, अनुसन्धान गर्दै जाँदा श्रीमानको रूपमा डेरामा बस्दै आएका दिलबहादुरको भूमिकालाई लिएर प्रहरीलाई आशंका लागेपछि थप अनुसन्धान भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अनुसन्धान रिपोर्ट मंगलबार नै सरकारी वकिलको कार्यालयलाई सुम्पिसकेका छन्। रिपोर्टमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय सूर्य उपनाम गरेका खिलबहादुर नै हत्यामा संलग्न भएको उल्लेख छ। 

अनुसन्धानमा संलग्न प्रहरीले सोधपुछ गर्दा खिलबहादुरले आफू मध्यराती १२ बजे निस्किएको बयान दिएका थिए। तर, अनुसन्धानका क्रममा उनी १२ बजे दिलमायाको डेरामा पुगेको देखिएको थियो। उनी साढे ४ बजे बिहान डेराबाट बाहिरिएका थिए। हाल उनी प्रहरी नियन्त्रणमै छन्। उनीविरूद्ध दिलमायाका पिताजीले ज्यान मुद्धामा जाहेरी दिएका थिए। 

दिलमायाको शव सुरूमा घरबेटीले देखेको बताइएको छ। फेसबुकमा सुसाइड नोट देखेपछि फ्यानहरूले उनको नम्बरमा लगातार फोन गरेका थिए। पछि उनको फोन अफ भयो र साथीहरूले घरबेटीलाई फोन गरेका थिए। घरबेटी दिलमायाको कोठामा जाँदा कोठाको चुक्कुल खुल्ला नै थियो। 

‘पोष्टमार्टमको रिपोर्टले झुन्डिएर नै मृत्यु भएको देखाएको छ। तर, प्रमाणले खिलबहादुर अभियुक्त भएको देखाउँछ,’ मैनाली भन्छन्। प्रहरीले घटनास्थलमा दिलमायाको मोबाइल फोन फेला पार्न नसकेपछि आशंका बढेको थियो।  ‘उनको त्यही फोनबाट फेसबुकमा स्टाटस लेखिएको थियो,’ मैनालीको भनाइ छ,‘यो अहिलेसम्म फेला पर्न सकेको छैन।’

प्रहरीले घटनामा प्रयोग भएको सल फेला पारेको थियो। जुन खिलबहादुरले लगेर फ्याँकेका थिए। सल काठमाडौंको महाराजगन्जस्थित कतार भिषा सेन्टर नजिक सडकको पश्चिम किनारको झाँडीमा फेला परेको थियो। 

प्रतिक्रिया