खाद्य संस्थान र वीमा संस्थानले तिरेनन् राजश्व

काठमाडौं। नेपाल खाद्य संस्थान र राष्ट्रिय बीमा संस्थानले अहिलेसम्म राजश्व नतिरेको थाहा भएको छ। काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थानले राजश्व नतिरेको महानगरको बैठकमा जानकारी गराएका थिए।

यसैगरी काठमाडौँ महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ।

महानगरका मेयर बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको  छैटौँ कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

नेपाली कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकको जिम्मेवारी पनि निर्वाह गरिरहेका छन्।

साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न महानगरसँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो।

त्यतिबेला पाँच देशका ११ नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए। बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ। यसका लागि खरिद नियमावली संशोधन गर्नुपरेको बताईएको छ।
 

प्रतिक्रिया