एन्फाको गतिविधिमा फिफाको कड्के नजर

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित भएपछि १२ वटा मूल एजेन्डासहित केन्द्रीय कार्यसमितिको बैठक सोमबार काठमाडौंमा बस्दैछ। 

बैठकमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्ने सम्बन्धलगायत थुप्रै एजेन्डामा छलफल हुँदैछ। तर, यसमा पनि सबैभन्दा पेचिलो मुद्धा कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्ने विषय रहेको छ। 

भ्रष्टाचारको मुद्धामा १० वर्ष प्रतिबन्ध झेलिरहेका पूर्व अध्यक्ष गणेश थापा यतिबेला आफ्नो जेठा छोरा गौरव थापालाई सीइओ बनाउन सक्रिय छन्। एन्फा चुनावअघि भएको सहमति कार्यान्वयन गर्न उनले अध्यक्ष नेम्वाङलाई दबाब दिइरहेका छन् भने एन्फामा गौरवको नियुक्तिले अफ्ठेरो पर्र्ने कुरालाई लिएर उनी सशंकित छन्। 

फिफाले फुटबल गतिविधिमा सक्रिय हुन नपाउने गरी गणेश थापालाई प्रतिबन्ध लगाए पनि चुनावको बेला नेम्वाङलाई जिताउन उनी सक्रिय भएको जगजाहेर छ। थापाको सक्रियतालाई लिएर चुनावअघि नै फिफाले पत्र पठाउँदै चेतावनी दिएको थियो। अहिले उनको छोरालाई एन्फाको महत्वपूर्ण पद सुम्पिदा फिफाले कडा कदम उठाउन सक्नेतर्फ नेम्वाङ सशंकित भएका हुन्।  

गणेश थापालाई फिफाले भ्रष्टाचारको मुद्धामा १० वर्ष प्रतिबन्ध लगाउँदा गौरव थापाको मलेसियास्थित बैक अकाउन्टबाटै १ लाख अमेरिकी डलर ट्रान्सफर भएको ठहर भएको थियो। अहिले पनि उनी पितासँगै एउटै घरमा बसोबास गर्ने कारण फिफाले एन्फाको नयाँ नेतृत्व कसरी अगाडि बढ्छ, त्यो सुक्ष्मढंगले हेरेर बसेको एन्फाको विदेश विभागमा बसेर काम गरिसकेका एक पदाधिकारी बताउँछन्। 

‘यो निर्वाचनमा गणेश थापाको भूमिका छर्लङ भइसकेको छ। उनको विषयमा फिफा पहिले नै रिजिट छ। निर्वाचनमा उनको भूमिकाको विषयमा फिफामा उजुरी परिसकेको छ। गौरव थापालाई सीइओमा ल्याउँदा झन् उनको भूमिका स्पष्ट हुने कारण अध्यक्ष नेम्वाङ दबाबमा हुनुहुन्छ,’ ती पदाधिकारीले बताए। 

नेम्वाङ समूहका एक पदाधिकारीले दृश्य टिभीलाई दिएको जानकारी अनुसार यस विषयमा फिफासँग पनि छलफल अगाडि बढाइएको थियो। तर, फिफा पदाधिकारीले कुटनीतिक भाषामा उनको नियुक्तिले एन्फालाई अफ्ठेरो पर्ने जानकारी दिएको छ। 
‘उनीहरूले कुनै पनि देशलाई यो मान्छे राख, त्यो नराख भन्दैन। तर, गौरवको विषयमा उनीहरूले भविस्यमा आउने ‘कन्सिक्वेन्सेस’ हरूको विषयमा आफै जवाफदेही हुनुपर्ने भन्दै कुटनीतिक उत्तर दिएका छन्,’ नेम्वाङ समूहका ती पदाधिकारीले भने। 

फिफाले भ्रष्टाचारको मुद्धामा १० वर्ष प्रतिबन्ध लगाउँदा पनि गणेश थापाले ‘कोर्ट अफ आर्विटेशन’ मा अपील नगरेको हुनाले उनले आफूमाथिको आरोप स्विकारेको फिफाको ठहर छ। यस्तो अवस्थामा नेम्वाङलाई सम्हालिएर काम गर्न ती पदाधिकारी सुझाव दिन्छन्। 
 

प्रतिक्रिया