विश्वराजको रिट खारेज, आइजी बन्ने अभियानमा धक्का

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज गरेसँगै उनको आइजी बन्ने अभियानमा गम्भीर धक्का लागेको छ। 

सरकारले धिरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त गरेपछि एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले शुक्रबार उनको रिट खारेज गर्ने निर्णय गरेको हो। सरकारले आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेल १९ वैशाखमा सर्वोच्चको ढोका ढकढकाउने पुगेका थिए। उनले सरकारी निर्णय बदर गर्दै आफूलाई आईजीपी नियुक्त गर्न आदेश माग गरेका थिए।  सर्वोच्चले उनको माग अस्वीकार गरेको हो। 

सिंह आईजीपी नियुक्त भएसँगै पोखरेल बिदामा बसेका थिए। उनले २० साउनमा अनिवार्य अवकास पाउँदैछन्।

सर्वोच्चले पोखरेलविरुद्ध परेको तीन वटा रिट पनि खारेज गरेको छ। पोखरेल डीआईजीबाट एआईजी हुँदा जुनियरलाई बनाएको भन्दै तत्कालीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए। उनीहरूले पनि जुनियरलाई एआईजी बनाएकाले सरकारको निर्णय बदर गर्न माग गरेका थिए। 

प्रतिक्रिया