प्रधानमन्त्रीसँग प्रकाशमानको प्रश्न–‘के भनेर जनतामा जाने?’

काठमाडौं। नेपाली कांग्रेसको अधिवेशनमा सभापतिको जितका लागि शेर बहादुर देउवालाई सघाएका नेता प्रकाशमान सिंहले ७ महिनापछि पहिलो पल्ट सरकारको तीब्र आलोचना गरेका छन्। 

उनले शेर बहादुर नेतृत्वको सरकारले काम गरेको एक वर्ष पुरा हुँदा ‘न सरकार सुनिने, न देखिने नै भएको’ भन्दै आलोचना गरेका हुन्। १३ डिसेम्बरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दावेदार शेर बहादुर र डा.शेखर कोइरालामध्ये कुनैले बहुमतसिद्ध गर्न नसकेपछि दोस्रो चरणमा भएको मतदानमा प्रकाशमानले शेर बहादुरलाई सघाएका थिए। १४ औं महाधिवेशनमा प्रकाशमान पनि सभापतिको उम्मेदवार थिए। 

प्रकाशमान तथा सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले सघाएपछि शेर बहादुर दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका थिए। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रकाशमानले भने, ‘सरकारले देखिने र सुनिने कुनै कार्यक्रम ल्याएन। मूल्यवृद्धि र जनसरोकारसँग सम्बन्धित अन्य सवालमा पनि सरकारले ध्यान दिएन।’

उनले चुनाव नजिकिँदै गर्दा जनतासँग भोट माग्न जाने कुनै कार्यक्रम शेर बहादुर सरकारले नदिएको भन्दै चरम असन्तुष्टी देखाए। ‘के भनेर जनतामा जाने हो?’ उनले प्रतिप्रश्न गरे। 

प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद छन्। 
 

प्रतिक्रिया