महिना दिनमै किन फेरियो प्रचण्डको रणनीति 

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको निरन्तरता र वाम एकताको राजनीतिक कार्ड एकसाथ चलाउन थालेका छन्। आगामी संसदीय निर्वाचनमा आफ्नो अनुकूल हुनेगरी निर्वाचन क्षेत्र बाँडफाँड गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दवाव बढाउन र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको ध्यान तान्न प्रचण्डले दुइवटा कार्ड एकसाथ चालेको बुझ्न सकिन्छ।

दुइतिहाई बहुमतको वामपन्थी सरकार असफल बनाउन मुख्य नायक मानिएका प्रचण्डले आफूसँग झस्किएको चिनियाँ संस्थापन पक्ष र त्यहाँको सत्तारुढ दललाई आस्वस्त पार्न पनि यो रणनीति अख्तियार गरेको हुनुपर्छ भन्ने विश्लेषण गरिएको छ। 

आज काठमाडौं उत्रिएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीस) का विदेश विभाग प्रमुख  लिउ जियानचाओलसँग प्रचण्डको भेट्ने कार्यक्रम छ। 

प्रचण्डले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताए पनि उनकै पूर्व लडाकु सहकर्मी नेत्र बिक्रम चन्द विप्लवले यसलाई प्रचण्डको मौकापरस्त राजनीतिक दाउपेच भनी अथ्र्याएको छ। विप्लवसँग निकटस्थ सूत्रले प्रचण्डले पूर्व माओवादी एकठाउँ उभिने समय आएको भने पनि त्यो तत्काललाई सम्भव नरहेको दृश्यटिभीसँग बताएको छ।

अहिले पूर्व माओवादी भन्न छाडेर प्रचण्डले वाम र लोकतान्त्रिक एकताको नयाँ प्रस्ताव अगाडि सारेका छन्। महिनादिन पनि बितिनसक्दै प्रचण्डको राजनीतिक एजेन्डामा ठूलो परिवर्तन आएको छ। लोकतान्त्रिक शक्तिको मुख्य घटक नेपाली कांग्रेससँग प्रचण्डले सत्ता साझेदारी गरिरहेकै छन्। उता एमालेसँग प्रचण्डको पानी बाराबारको अवस्था छ।

माओवादी अध्यक्ष प्रचण्डको भनाईमा ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन आजको आवश्यकता हो।’ 

मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा पारेर उनले आज यस्तो सन्देश प्रशार गरेका छन्।  
 

प्रतिक्रिया