प्रदेश–१ को नाम लगभग टुङ्गियो, ‘सप्तकोशी’ राख्ने सहमति

 

विराटनगर। करिब साढे ४ वर्षदेखि टुङ्गो लाग्न नसकेको प्रदेश नम्बर–१ को नाम सत्तारुढ पार्टीहरूको सहमतिमा लगभग टुङ्गो लाग्ने देखिएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकमा विभिन्न पार्टीले नाम सिफारिस गरे पनि नेपाली कांग्रेसले राखेको ‘सप्तकोशी’  नाममा सहमति गर्नेगरि लगभग टुङ्गोमा पुगेको छ। 

प्रदेश नम्बर–१ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्मा राज राईले दृश्य टिभीलाई यसको जानकारी दिँदै भने,‘सरकारमा आवद्ध नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा प्रतिपक्षी नेकपा एमालेले भिन्दाभिन्दै नाम प्रस्ताव गरेका थिए। तर, हामीले मध्यमार्गी नाम अपनाउँदै सबैलाई मान्य हुने गरी सप्तकोशी प्रदेश राख्ने प्रस्ताव गर्यौं। जसमा लगभग सबै साथीहरू सकारात्मक देखिनु भएको छ।’

उनले आगामी बैठकमा सप्तकोशी प्रदेशको नाममा सहमति बन्ने आशा व्यक्त गरे। ‘जातीय र एकलभन्दा पनि बहुपक्षीय नाममा सबै दलका नेताहरूको सर्वसहमति देखियो। त्यसैले यसैमा सहमति बन्ने कुरामा हामी ढुक्क छौं,’ प्रमुख सचेतक राईले भने। 

सर्वदलीय बैठकमा कोशी, ताम्सालिङ, किराँत, शेर्पालु, लिम्बुवान जस्ता अनेकौं नामको प्रस्ताव भएको थियो। यी नामहरूमा सहमति नजुटेपछि नेपाली कांग्रेसले सप्तकोशी नाम प्रस्ताव गरेको हो। 

‘किराँत, शेर्पा, लिम्बुवान, ताम्सालिङ सबै जातजातिको सभ्यता पनि सप्तकोशीसँग जोडिएको कारण हामीले मध्यमार्गी नाम सुझाएका हौं,’ उनले भने। 

प्रतिक्रिया