अर्थको साँचो कार्कीलाई सुम्पिन आरजू नै आतुर

काठमाडौं। जनार्दन शर्माको बहिर्गमनपछि अर्थ मन्त्रालयको नेतृत्वमा को पुग्ने हो भन्ने बिषयले निकै चर्चा पाएको छ। सत्ता गठबन्धनभित्र भावी अर्थमन्त्रीको उम्मेदवार छनौटले उच्च प्राथमिकता पाएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा आकांक्षीहरुका दवाव समूहबाट घेरिएका छन्। नेपाली कांग्रेसको सभापति पक्षीय समूहमा पनि उपसमूहहरु अर्थमन्त्री कसलाई बनाउने भनेर दौडधुपमा देखिन्छन्। 

माओवादी नेता जनार्दन शर्माले चर्को विवादपछि उत्पन्न दवाव थेग्न नसकेपछि राजीनामा दिएका छन्। उनको राजीनामापछि रिक्त पद माओवादीले नै दावी गर्ने सम्भावना पनि देखिन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसका लागि विकल्प दिने भन्दै प्रधानमन्त्री देउवामाथि दवाव दिन सुरु गरेका छन्। अर्थमन्त्रालय आफ्नो भागमा पर्न नसके आगामी संसदीय निर्वाचनमा आफैंमाथि नकारात्मक असर पर्ने प्रचण्डको ठम्याई छ।

यता नेपाली कांग्रेसले संस्थागत रुपमा अर्थमन्त्रीको उम्मेदवार छनौट गर्ने सम्भावना एकदम न्यून देखिन्छ। प्रधानमन्त्रीको छत्रछाँयाँको सदुपयोग गर्दै यतिबेला तीन तहका शक्ति केन्द्र सक्रिय देखिन्छन्। डाक्टर आरजू राणा देउवाको नेतृत्वमा बालुवाटारको सन्यन्त्र क्रियाशील छ भने गृहमन्त्री बालकृष्ण खाँडले सिंहदरबार चलाईरहेका छन्। अर्को पार्टी सचिवालयझैं ठानिने शक्ति केन्द्र प्रवक्ता प्रकाशशरण महतले सञ्चालन गरिरहेको देखिन्छ। यी तीन तहका केन्द्रहरुको मूली  प्रधानमन्त्री देउवा हुनुपर्ने हो तर उनलाई धर्मपत्नी आरजूले पूरापुर सहयोग गरिरहेको देखिन्छ। यसैले राजनीतिक अवसरहरुको वितरणमा आरजूकै हातको तराजु क्रियाशील हुने गरेको वालुवाटार निकट सूत्रहरु बताउँछन्।
 
भावी अर्थमन्त्री को हुने भन्ने कुराको छिनोफानो पनि प्रधानमन्त्री निकट केन्द्रले नै टुंगो गर्ने सम्भावना प्रबल देखिन्छ।

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सबैभन्दा प्राथमिकतामा रहेको बताईन्छ। उनी यसअघि पनि अर्थमन्त्री भैसकेका थिए, त्यसबेला एमसीसीमा हस्ताक्षर गर्ने कार्की पहिलो मन्त्री हुन्। प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिएका कार्की अर्थमा पठाउँदा बालुवाटार र सिंहदरबार दुवैतिर सन्तुलन मिल्नसक्ने बताईन्छ। कार्कीलाई अर्थको जिम्मेवारी सुुम्पिदा दाता समूह र शक्तिशाली मित्रहरु पनि प्रशन्न हुने कुरा मसिनुगरी बुझेका प्रधानमन्त्री देउवाले गठबन्धनका अर्का नेता प्रचण्डलाई ठूलै आश्वासन दिएर भएपनि अर्थ चैं आफ्नै दलसँग राख्नेमा कुनै शंका नरहेको जानकार सूत्र बताउँछ। अर्थको साँचो कार्कीलाई सुम्पिन आरजू नै बढी आतुर रहेको सूत्रको भनाई छ।

यसो हुन सकेमा माओवादीले सञ्चारको साँचो बुझ्न सक्ने देखिन्छ। 

प्रतिक्रिया