पुतलीसडकको फोहोरको डुंगुर हेर्दै कमलादी पुगे प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादीको कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको बैठकमा सहभागी हुन गएका नेताहरुले पुतलीसडकको पैदलमार्गमा थुप्रिएको फोहोरको डुंगुर नाघ्नुपरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहीमार्ग भएर बैठकको अध्यक्षता गर्न प्रज्ञाभवन पुगेका हुन्। 

शंकरदेव क्याम्पसको अगाडि पुतलीसडकको पैदलमार्गमा फोहोरको डुंगुर थुप्रिए पनि त्यसलाई हटाउने तर्फ कसैको ध्यान गएको छैन। 

सत्ता गठबन्धनको मुख्य घटक माओवादीले आफ्नो केन्द्रीय समितिको बैठक बस्ने कमलादीको प्रज्ञा भवनसम्मको सडक वरपर सफासुग्घर बनाउने तर्फ सरोकार नै नराखेको देखियो। कालो शिशाभित्र वातानुकूलित मोटरमा ओहोरदोहोर गर्ने उच्च तहका नेताका लागि सडकको फोहोर त्यति वाधक नबने पनि उनका कैयौं नेता, स्कूल र कलेजका विद्यार्थी, श्रमजिवी मजदूर तथा सर्वसाधारण फोहोरबाट प्रत्यक्ष प्रभावित भैरहेका देखिन्छन्। 

काठमाडौंको स्वरुप बदल्ने भनेर सार्वजनिक सभा समारोहमा हुँकार छाड्ने सबै दलका नेता, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख र सरकारी निकायका सबैजसो पदाधिकारीले नियमित प्रयोग गर्नुपर्ने पुतलीसडकको यो दुर्दशा काठमाडौं महानगरपालिकाको जिम्मा छ।

यता, काठमाडौँ महानगरपालिकाले पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको सरकारी समाचार एजेन्सी राससले लेखेको छ। 

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो। गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताए।

फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन। राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन्। “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआएका रामचन्द्र श्रेष्ठ बताउँछन्।

राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उनले बताए। महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ। महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो।

प्रज्ञाभवनमा माओवादी 

यता सत्ता गठबन्धनको मुख्य घटक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन। 

बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ। यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ।

गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन। महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै  २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो।

महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ। बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउने छन्।
 

प्रतिक्रिया