युएनले भन्यो– पत्रकारलाई न्युज लेखेको र ट्वीट गरेको आधारमा जेल नहाल्

काठमाडौं। भारतमा न्युज लेखेको र ट्वीट गरेको आधारमा एक पत्रकारलाई जेल सजाय भएको छ। भारतमा मात्र होइन, यतिबेला विश्वका थुप्रै देशमा ट्वीट गरेकै आधारमा पत्रकारहरू सरकारी निशानामा परेका छन्। 

यसविरूद्धमा धेरै अगाडिदेखि आवाज उठ्दै आइरहेको थियो। अहिले संयुक्त राष्ट्र संघ (युएन) ले पनि पत्रकारमाथि राज्यबाट हुने आंतकको खुलेर विरोध गरेको छ। पत्रकारका साथै अल्ट न्युजका सह–संस्थापक मोहम्मद जुबेरको गिरफ्तारीलाई लिएर युएन महासचिव आन्टोनियो गुटेरेशका प्रवक्ता स्टिफन डुजारिकले प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘विश्वको कुनै पनि कुनामा रहेका मानिसको वाक स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्छ। अझ, पत्रकारले बिना कुनै डर र त्रास अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउनु पर्छ।’

पत्रकार सम्मेलनमा डुजारिकलाई जुबेरको पक्राउको सम्बन्धमा पाकिस्तानी पत्रकारले प्रश्न उठाएका थिए। जसको उत्तर दिँदै डुजारिकले भने, ‘पत्रकार जे लेख्छन्, जे ट्वीट गर्छन र जुन कुरा भन्न चाहन्छन्, त्यसका लागि उनीहरूलाई जेल हुनुहुँदैन।’ 

मोहम्मद जुबेरलाई दिल्लीको पटियाला हाउस कोर्टले मंगलबार ४ दिनको लागि पुलिस हिरासतमा राख्न स्विकृति प्रदान गरेको थियो। जुबेरमाथि आरोप छ, उनले सन् २०१८ मा ट्वीट गर्दै एक समूदायको धार्मिक भावनामा ठेस पुर्याएका थिए। 

दिल्ली प्रहरीले सोमबार साँझ जुबेरलाई पक्राउ गरेको थियो। जुबेरका साथी प्रतिक सिन्हाले आरोप लगाएका छन्, प्रहरीले बिना कुनै नोटिस उनलाई पक्राउ गर्यो। सोमबार साँझ जुबेरलाई प्रहरीले २०२० को एउटा घटनाको विषयमा सोधपुछ गर्नुछ भनेर बोलाएको थियो। तर, उनलाई गिरफ्तार गरियो। एक दिनको सोधपुछको समय समाप्त भएको भन्दै प्रहरीले उनलाई मंगलबार पटियाला हाउस कोर्टमा पेश गरेको थियो। 

प्रहरीले अदालतमा आरोपीलाई बेङ्गलुरु लगेर एउटा डिभाइस बरामद गर्नुपर्ने भन्दै थप समय माग गरेको थियो। जसलाई अदालतले स्विकार गर्यो। पत्रकारका पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था कमेटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले पनि जुबेरको गिरफ्तारीको निन्दा गरेको छ। सीपीजेको दक्षिण एसिया हेर्ने कोअर्डिनेटर स्टिभन बटलरले भनेका छन्, ‘पत्रकार मोहम्मद जुबेरको गिरफ्तारी भारतमा खस्किदै गएको प्रेस स्वतन्त्रताको उदाहरण हो। सरकारले साम्प्रदायिक मुद्धामा रिपोर्टिङ गर्ने पत्रकारहरूमाथि सत्रुतापूर्ण व्यवहार र असुरक्षित वातावरण बनाइरहेको छ।’

मंगलबार एमनेष्टी इन्टरनेशनलको भारत शाखाले पनि जुबेरको गिरफ्तारीको विरोधमा विज्ञप्ती जारी गरेको छ। संगठनले जुबेरको तत्काल रिहाईको माग राखेको छ। उसले भनेको छ, ‘सत्यतथ्य तथा न्यायको पैरवी गर्ने मानवअधिकारका रक्षकहरूको उत्पीडन र गिरफ्तारी चिन्ताजनक विषय हो। भारतमा यो विस्तारै सामान्य बन्दै गइरहेको छ।’

एमनेष्टी भारतका अध्यक्ष आकार पटेलले विज्ञप्ती सार्वजनिक गर्दै भारतीय अधिकारीले जुबेरमाथि निशाना बनाउनुको कारण उनी भ्रामक सूचनाविरूद्ध काम गरिरहेको बताएका छन्। मंगलबार एडिटर्स गिल्ड अफ इन्डिया, मुम्बई प्रेस क्लबसमेत केही पत्रकार संगठनले जुबेरको गिरफ्तारीविरूद्ध निन्दा गर्दै तुरुन्त रिहाईको माग राखेका छन्। 

प्रतिक्रिया