२४ वर्षपछि वामदेवको आफ्नै पार्टी

काठमाडौं। २४ वर्षपछि वामदेव गौतम पुनः आफ्नो छुट्टै राजनीतिक पार्टी गठन गर्ने अवस्थामा आइपुगेका छन्। 

करिब सात महिनाअघि चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय सम्मेलनमा निस्क्रिय देखिएका वामदेवले मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एकता राष्ट्रिय अभियान पार्टी नामक नयाँ पार्टी गठन गरेका हुन्। 

२०५५ सालमा उनले एमाले फोडेर नेकपा माले गठन गरेका थिए। तर, २०५६ निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि उनी पुनः एमाले फर्किएका थिए। अहिले फेरि चुनावको मुखमा उनले आफू संयोजक बसेर नयाँ पार्टी गठन गरेका हुन्। गौतमले गठन गरेको नयाँ राजनीति पार्टी पनि बहुपदीय रहेको छ। पार्टीमा अध्यक्षसहित १२ जना कार्यसमितिमा रहने छन्। जसमा ७ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष तथा एक सचिव रहने प्रावधान राखिएको छ। 

पार्टीमा १५ जना स्थायी कमिटी सदस्य छन्। गत वर्ष सर्वोच्च अदालतले नेकपा विघटन गर्दै नेकपा डबललाई छुट्टयाइ दिएपछि वामदेव तटस्थ बस्दै आइरहेका थिए। हाल उनी राष्ट्रिय सभाका मनोनित सदस्य हुन्। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर लडेको गत प्रतिनिधि सभा चुनावमा उनी बर्दियाबाट पराजित भएका थिए। पराजित वामदेवलाई पछि पार्टीले राष्ट्रिय सभामा मनोनित गरेको थियो। 

गौतमले पार्टी गठन गर्नुअघि नेकपा एमाले र नेकपा माओवादी छुट्टिनुमा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी भएको बताएका थिए। उनले केपी ओलीको कार्यशैली पनि ठिक नभएको भन्दै आलोचना गरेका थिए। उनले पार्टीलाई एक ढिक्का राख्न आफूले प्रयास गरेको तर दुवै पक्षले विश्वास नगरेको बताएका थिए। 

प्रदेश तथा प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा गौतमले खोलेको पार्टीले कस्तो कमाल गर्ने हो, त्यो राजनीतिक बृत्तमा चर्चाको विषय बनेको छ। 

bamdev press

bamdev press1
 

प्रतिक्रिया