श्रीलंकापछि चरम आर्थिक संकटतर्फ पाकिस्तान

काठमाडौं। श्रीलंकापछि छिमेकी पाकिस्तानको आर्थिक अवस्था पनि त्यति सुखद देखिदैन। पाकिस्तानमा पछिल्लो समय देखिएको वित्तिय संकटबाट बच्न सरकारले नयाँ–नयाँ योजना अगाडि ल्याएको छ। जसमा वैवाहिक कार्यक्रममा अतिथिहरूलाई प्रितिभोजमा एउटा मात्र खानाको आइटम पस्किन आदेश दिइएको छ। 

यस्तै, जन्ती, मेहन्दी र नाचगान कार्यक्रम ९ बजेभन्दा अगाडि नै सम्पन्न गरिसक्नु पर्ने र ९ बजेपछि अनावश्यक स्ट्रिट लाइट बन्द गर्नुपर्ने नियम लागु गरिएको छ। अतिआवश्यक मेडिकल स्टोर पेट्रोल पम्प, बस टर्मिनल, दुध पसलमा मात्र रातीको समय बत्ति बाल्ने छुट दिइएको छ। 

बिजुली बचतका लागि सरकारले सबै बजार, शपिङ मल, पार्टी प्यालेस र पसललाई ९ बजेसम्म मात्र खोल्ने अनुमति दिएको छ। यसपछि धारा १४४ लागु गरिएको छ। यस्तै, सरकारी कार्यालय ५ दिन मात्र खुल्ला हुनेछ। सरकारी भनाई अनुसार शनिबार कार्यालय बन्द गर्दा सरकारलाई वार्षिक ७८३० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ। 

शहबाज सरकारले शुक्रबार वर्क फ्रम होमको विकल्प अगाडि सार्दै कर्मचारीलाई उपलब्ध इनधनमा ४० प्रतिशतको कटौति गरेको छ। पाकिस्तान सेनाले पनि शुक्रबारलाई ड्राई डेको रूपमा मनाउने घोषणा गरिसकेको छ र यो दिन कुनै वाहन चल्ने छैन। 

शाहबाज सरिफ सरकारको यो निर्णयप्रति प्रमुख प्रतिपक्षी इमरान खानको पार्टी पिटीआईले विरोध जनाएको छ। पार्टीका वरिष्ठ नेता फवाद चौधरीले भनेका छन्, ‘बजार र शपिङ मललाई राती ९ बजे बन्द गर्ने निर्णय आर्थिक संकटबाट बाहिरिने तरिका होइन। जनता सरकारको अक्षमता र कुशाषनको मूल्य चुकाइरहेको छ। बिजुली संकटबाट बाहिर कसरी निस्किने, त्यसको उपाय खोज्नुको सट्टा शाहबाज सरकार पाकिस्तानी जनतालाई ढुंगे युगतर्फ ढकेलिरहेको छ।’ 

सरकारको पछिल्लो निर्णयप्रति पाकिस्तानका ब्यापारीले पनि असन्तुष्टी जाहेर गरेका छन्। स्थानीय ब्यापारी नोमन अब्बासी भन्छन्, ‘इन्धनको बढ्दो मूल्य र महंगीले व्यवसाय पहिले नै ठप्प छ। मानिसहरूको क्रयशक्ति घटिसकेको छ। सरकार आर्थिक सुधारको सट्टा बजार र पसल बन्द गर्न लगाएर अनौठो रणनीति लागु गरिरहेको छ।’

सूचनामन्त्री मरियम औरंगजेबका अनुसार पाकिस्तानमा अझै ७ हजार ४ सय मेगावाट बिजुली अपुग छ। देशमा बिजुलीको माग २८ हजार ४ सय छ, जसमा २१ हजार मेगावाट मात्र बिजुली उत्पादन गर्न सफल भएको छ। पछिल्लो केही महिनायता उर्जा आयातको लागत मूल्यमा दुई गुणा बढौत्तरी भइसकेको छ। अमेरिकी डलरको मूल्य २ सय ७ रुपैयाँ पुग्नु पनि पाकिस्तानका लागि असहज परिस्थिति हो। 

प्रतिक्रिया