५ देखि ११ वर्षका बालबालिकालाई बिहीबारदेखि फाइजर खोप

काठमाडौं– आज बिहीबारदेखि देशका सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ। असार १५  गतेसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने सरकारको योजना रहेको छ। 

बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ।

यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।

सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गर्ने जनाएको छ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुनसक्ने भएकाले यस्ता असरलाई स्वाभाविक रूपमा लिन परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ।

यी २७ जिल्ला हुँदैछ खोप कार्यक्रम :
प्रदेश–१ :  झापा, इलाम मोरङ, सुनसरी
मधेस प्रदेश : सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी
बागमती प्रदेश : काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर
गण्डकी प्रदेश : कास्की, नवलपरासी पूर्व
लुम्बिनी प्रदेश : नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया
कर्णाली प्रदेश : सुर्खेत
सुदूरपश्चिम प्रदेश : कैलाली, कञ्चनपुर र डडेलधुरा 

प्रतिक्रिया