आर्थिक संकटपछि श्रीलंकामा वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा फेरबदल

कोलम्बो, एएफपी। आर्थिक मन्दीका कारण श्रीलंका ९ वर्षअघि आफैले लागु गरेको कानुनलाई परिवर्तन गर्न बाध्य भएको छ। श्रीलंकामा वैदेशिक रोजगारीमा जाने महिलाको उमेर २३ वर्ष निर्धारण गरिएको थियो। तर, अब आर्थिक मन्दीका कारण सरकारले यसमा पुनर्विचार गर्दै २१ बनाएको छ। 
अहिले श्रीलंकाको अर्थव्यवस्था कमजोर छ। डलरको अभावमा सरकारलाई देश चलाउन गाह्रो परिरहेको छ। वैदेशिक रोजगारीका लागि विदेश जाने आफ्नो जनताहरूले पठाउने रेमिटेन्सले केही सहयोग गर्छ कि भन्ने निस्कर्षमा सरकार पुगेको छ। 

कोलम्बोले सन् २०१३ मा वैदेशिक रोजगारीमा जाने महिलामाथि उमेरको हकबन्दी लगाएको थियो। त्यो वर्ष साउदी अरबमा घरेलु कामदारको रूपमा गएकी एक १७ वर्षीय श्रीलंकाली किशोरीलाई फाँसीको सजाय सुनाइएको थियो। उनीमाथि कामको दौरान बच्चा मरेको आरोप लगाइएको थियो। 

यो घटनापछि श्रीलंकाली सरकारले २३ वर्षका महिलालाई मात्र वैदेशिक रोजगारीमा जानदिने कानुन बनाएको थियो। साउदी अरबको हकमा यी महिलाको उमेर २५ वर्ष निर्धारण गरिएको थियो। 

सरकारी प्रवक्ता बाण्डुला गुणावद्र्दनेका अनुसार वैदेशिक रोजगारीको संख्या बृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सबै देशमा महिलाको न्युनतम उमेर २१ तोकिएको छ। 

श्रीलंकाको प्रमुख आयको रूपमा वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स पनि एक हो। श्रीलंकामा वार्षिक ७ अर्ब डलर भित्रिने गरेको छ। कोरोना संक्रमणको दौरान सन् २०२१ मा रेमिट्यान्सबाट भित्रिने पैसा घटेर ५ दशमलव ४ अर्ब डलरमा खुम्चिएको थियो। आर्थिक संकटका कारण यो वर्ष ३ दशमलव ५ अर्ब डलर मात्र भित्रिने प्रक्षेंपण गरिएको छ। 

श्रीलंकाको अहिलेको विदेशी मुद्रा भण्डारनको क्षमता यति कमजोर भएको छ कि सरकारले भोजन, इन्धन र औषधीलाई आवश्यक हुने कच्चा पदार्थ आयातमा पनि रोक लगाएको छ। 

श्रीलंका सन् १९४८ पछि आफ्नो सबैभन्दा खराब वित्तिय संकटबाट ग्रुजिरहेको छ। अहिले यो देशमाथि ५१ अर्ब डलरको विदेशी कर्जा छ। यो संकट भित्रिनुमा कर कटौती र गलत समयमा भएको चुनावलाई ठहर गरिएको छ। पर्यटनमा आश्रित श्रीलंकाको विदेशी मुद्रा भण्डारन कोरोनाका कारण घटेको छ। गत फेब्रुअरीसम्म श्रीलंकासँग २ दशमलव ३१ अर्ब डलरको मात्र विदेशी मुद्रा भण्डारन थियो। यसपछि सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष, भारत र चीनसमेत अन्य देशबाट सहयोग माग गरिरहेको छ। 
 

प्रतिक्रिया