पाकिस्तानमा बलात्कारको घटना बढेपछि पञ्जाब प्रान्तमा आपतकाल घोषणा

इस्लामाबाद। पाकिस्तानको पञ्जाब प्रान्तमा बलात्कारको घटना लगातार बढेपछि स्थानीय सरकारले आपतकालको घोषणा गरेको छ। पञ्जाब प्रान्तका गृहमन्त्री अत्ता तरारले सोमबार पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन्। 

उनले भने, ‘पञ्जाबमा महिला र बच्चामाथि यौन उत्पीडनको संख्या बढ्नु समाज र सरकारका लागि चिन्ताको विषय हो।’ पञ्जाबमा यतिबेला दैनिक ४–५ वटा बलात्कारको घटना हुन थालेका छन्। सरकारले यौन उत्पीडन, दुब्र्यवहारबाट बच्न यस्तो फैसला गर्नुपरेको बताएको छ। 

कानुनमन्त्री मलिक मुहम्मद अहमद खानको उपस्थितिमा गृहमन्त्रीले भने, ‘बलात्कार र कानुनी व्यवस्थामाथि क्याबिनेट मिटिङमा समीक्षा गरिनेछ। यस विषयमा नागरिक समाज, महिला अधिकारवादी संगठन, शिक्षक तथा वकिलहरूसँग परामर्श गरिनेछ। घटनाको सुक्ष्म अध्ययन गरिनेछ।’ गृहमन्त्रीले अविभावकहरूलाई आफ्नो केटाकेटी घरमा एक्लै नछोड्न पनि आग्रह गरेका छन्। 

गृहमन्त्री तरारले बलात्कारको घटना रोक्न बलात्कारविरूद्धको अभियान चलाउन तथा जागरुक्ता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन्। उनले धनिहरूको छोराछोरी पढ्ने स्कुल तथा कलेजमा ड्रग्स सेवन गर्नु फेशन बनिसकेको बताए। यसले अपराधमा पनि वृद्धि भएको सुनाए। 

गत महिना मात्र बाहुद्धिन जकारिया एक्सप्रेस ट्रेनमा ग्याङरेप भएको थियो। ट्रेनबाट यात्रा गरिरहेकी युवतीको टिकट थिएन। यही बहानामा टिटीले उनलाई जनरल कोचको एसी कम्पार्टमेन्टमा लगेर आफ्नो दुई साथीसँगै सामूहिक बलात्कार गरेका थिए। 

क्यानडाको थोम्सन रोयटर्स फाउन्डेशनले जारी गरेको एउटा रिपोर्टमा भनिएको छ, ‘सन् २०२१ मा पाकिस्तानमा १००० युवतीको घरधनीले हत्या गरेका थिए। यस्तै, कट्टरपन्थीको जमातले केही महिलासँग सामूहिक बलात्कार गरेका थिए। 
 

प्रतिक्रिया