अमेरिकामा ‘गन कल्चर’ को कूरुप रुप

वासिङ्टन। अमेरिकामा ‘गन कल्चर’ ले थप विकराल रूप लिँदैछ। गत वर्ष मात्र यहाँ ४ करोडको हाराहारीमा गन विक्री भएको थियो। 

अमेरिकी गन कम्पनीले पछिल्लो २० वर्षयता भएको व्यापारको अध्ययन गरेका छन्। जसमा निजी सुरक्षाका लागि हेडगन र युवाका लागि सेनाहरूले बोक्ने जस्तै हतियारमा बजार केन्द्रित हुन थालेको तथ्य बाहिरिएको छ। आत्मरक्षा, स्वाभिमान, युवा जोश र डरको भावना देखाउँदै यी कम्पनी गन बेच्न सफल भएका हुन्। सन् २००० मा अमेरिकामा ८५ लाख फायर आम्र्स विक्री भएको थियो।

यो संख्या गत वर्ष ३ करोड ८९ लाख पुगेको तथ्यांकले खुलाएको छ। यसमा पनि रोचक कुरा, गन खरिद गर्ने दौडमा महिलाहरू अगाडि देखिएका छन्। गन निर्माताहरू, वकिल तथा जनप्रतिनिधिले अमेरिकाको ठूलो वर्गलाई विश्वास दिलाउन सफल भएका छन् कि उनीहरूसँग कम्तिमा एउटा गन हुनैपर्छ। 

सन् २०२० मा जातीय भेदभाव विरोधी प्रदर्शनमा रिटेनहाउसले २ जनाको हत्या गरेका थिए। गत वर्षको नोभेम्बरमा अदालतले यो आरोपबाट उनलाई सफाई दिएको थियो। यसको केही घण्टाभित्रै फ्लोरिडाको एउटा गन डिलरले असल्ट राइफल घुमाइरहेको एउटा व्यक्तिको दृश्यलाई यो नारासँग जोडेर प्रचार गर्न सफल भएको थियो– मर्दहरूको बीचमा असली मर्द बन्नुहोस्।

रिटेनहाउसले २ जनाको हत्या गर्दा उनको उमेर १७ वर्ष मात्र थियो। वास्तवमा अमेरिकामा फायर आम्र्स इन्डस्ट्री हतियारको विक्री बढाउन वर्षौ लगाएर रिसर्च गर्ने गर्छ र विशेष समूहलाई हतियार बेच्ने योजना बनाउँछ। 

गत महिना ह्युस्टनमा नेशनल राइफल एसोसिएसनको सम्मेलनमा एक गन निर्माताले एआर–१५ स्टाइलको गन बीआरओ–टाइरेन्ट र बीआरओ प्रिडेटर नामले बजारमा उतारेको थियो। अन्य बन्दुक निर्माता कम्पनीले पनि यस्तै प्रचार गर्दै आइरहेका छन्। अमेरिकामा पछिल्लो समय भइरहेको सामूहिक गोलाबारीले गन कम्पनीलाई झन् बढी अवसर प्रदान गरेको छ। सन् २०१२ मा सेन्डीहुक स्कुल हत्याकाण्डपछि बन्दुकको विक्रीमा तिब्रता आएको थियो।  

सन् २०१६ मा गन उद्योगले विक्रीमा नयाँ कीर्तिमान नै राखेको थियो। पछिल्लो वर्ष गरिएको एउटा अध्ययनमा गन किन्ने व्यक्तिहरूमा धेरै जसो ४० वर्ष नाघेका र गोरा जाति थिए। उनीहरूको प्राथमिकतामा हेडगन थियो। 

गन इन्डस्ट्री एसोसिएसनको रिपोर्टअनुसार डरपोक ग्राहकसम्म पुग्न एउटा उदाहरण नै प्रस्तुत गरिएको छ। एउटा दृश्यमा शहरको सुनसान गल्लीमा चाकु बोकेर एउटा पुरुष आफूतर्फ आउँदै गरेको देखेपछि महिलाले आफ्नो ब्यागबाट हेडगन निकालेको देखाइएको छ। मर्केटिङ एजेन्सी कन्सील्ड केरी एसोसिएसनका प्रमुख टिमोथीका अनुसार गन किन्ने नयाँ व्यक्तिमा उपनगरीय तथा ग्रामिण वस्तीसँग जोडिएका वर्गहरू छन्। यस्तो पनि छैन कि खाली गोरा पुरुषले मात्र गन किन्ने गर्छन, अश्वेत र महिला ग्राहकको संख्या पनि बढ्दै गइरहेको छ। 

रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवार नेशनल राइफल एसोसिएसनको समर्थन लिन कोशिश गरिरहेका हुन्छन्।

रिपब्लिकन पार्टीले त झन् गन कल्चरको पक्षमा जमेर अभियान चलाएको छ। दक्षिणी केरोलिनाबाट संसदको चुनाव लडेकी क्रिस्टिना जेफ्रीलाई एउटा विज्ञापनमा एके–४७ राइफलसँग प्रस्तुत गरिएको थियो। मिसोरी राज्यका गर्भनर पदको चुनावमा रिपब्लिकन एरिक ग्रिटेन्स एउटा मेशिन गन जडित गाडीमा बसेर ओबामाको डेमोक्रेट मेशिनसँग लड्ने सपथ खाँदै गरेको देखाइएको थियो। सन् २०१८ मा जर्जियाको गर्भनर चुनावमा ब्रायन केम्पलाई फायर आम्र्सले भरिएको कोठामा देखाइएको थियो। 

महिलालाई प्रभावित गर्न लामो समयदेखि अभियान नै चलाइएको छ। सन् १९९६ मा लेडिज होम जर्नल पत्रिकाको एउटा विज्ञापनमा किचनको टेबलमा एउटा बेरेटा हेडगन देखाइएको थियो। यसको नारा थियो– होम ओनर्स इन्स्युरेन्स। १९६० देखि १९९० को बीच धेरै जसो विज्ञापन शिकारका लागि गनको प्रयोगमा केन्द्रित थियो। सन् २००० मा आत्मररक्षाका लागि हतियार बन्द हुन लागेको दर्शाइएको थियो। २०१९ मा शिकारसँग सम्बन्धित विज्ञापन मात्र १० प्रतिशत थियो। यही परिवर्तनका कारण सेमिअटोमेटिक हेडगन र एआर–१५ राइफलको विक्री पनि बढेको छ। यो हतियारको प्रयोग प्रहरी र सेनाले गर्दै आइरहेका छन्। 
 

प्रतिक्रिया