प्रचण्डको नयाँ तुरुप ‘माओवादी एकता’

काठमाडौं। कुनैबेला सिंगो माओवादी ‘हेडक्वाटरका चेयरम्यान’ रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलग्गिएर रहेका पूर्व सहयोध्दा कमरेडहरुलाई एकठाउँमा जुटाउने दाउमा छन्। मोहन वैद्य, विप्लव सहित महत्वपूर्ण नेताहरु कोही अलग्गै संगठित भएका र कोही एमालेमा प्रवेश गरेपछि प्रचण्डको मूल पार्टी कमजोर भएको प्रष्ट छ। एमालेसँग एकता गरेर कम्युनिस्ट केन्द्रको हाईकमाण्ड सम्हाल्ने सपना छोटो समयमै चकनाचूर भएपछि प्रचण्ड नेपाली कांग्रेसको हात समाएर स्थानीय निर्वाचनमा सहभागी भए। स्थानीय निर्वाचनमा उनलाई अपेक्षा गरिएभन्दा बढी नै लाभ भएको देखिन्छ। 

पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचन सम्पन्न गरेपछि आगामी संसदीय निर्वाचन चैं आफ्नो नेतृत्वको सरकारले गराउन चाहेका प्रचण्डले त्यसका लागि स्थान बनाउन नेपाली कांग्रेसलाई धम्क्याईसकेका छन्। तर उनको धम्कीले सोचेजति बजार भाउ पाउन नसकेपछि उनी माओवादी एकताको तुरुप हान्न थालेका छन्। 

आगामी निर्वाचनमा आफू कुन जिल्लाको कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने कुरा आजसम्म प्रष्ट नभैसकेको भएपनि प्रचण्डले त्यो निर्वाचनसम्म गठबन्धन परित्याग गरिहाल्न नसकेको भने प्रष्ट भएको छ। प्रचण्डका लागि  गठबन्धन परित्याग प्रत्युत्पादक हुने प्रष्टै छ। विपक्षी एमाले संसदीय निर्वाचनमा प्रचण्डलाई साइजमा ल्याउन चाहन्छ, माधव नेपाललाई त सके धुलिसात पार्नु एमालेको प्राथमिकताकै एजेन्डा हो।

निकट भविष्यको यस्तो राजनीतिक चित्र सामुन्नेमा राखेर हुनसक्छ प्रचण्ड माओवादीबाट छरिएका व्यक्ति र संगठनलाई आफ्नै नेतृत्वमा एकिकृत गरेर शक्ति बढाउन चाहन्छन्। केहीगरी यो सपना साकार भएमा राष्ट्रिय राजनीतिमा प्रचण्डको पल्ला भारी हुने पक्का छ। तर प्रश्न छ के मोहन वैद्य, विप्लव, रामबहादुर थापा बादल र बाबुराम भट्टराई फेरि प्रचण्डलाई नेता मान्दै उनी पछाडिको लाईनमा उभिनेगरी फर्किएलान् त?

यता प्रचण्ड भने पूर्वमाओवादीहरु छिट्टै एक ठाउँमा आउने दाबी गरिरहेका छन्। माओवादीको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरु छिट्टै एकै ठाउँमा आउने दावी गरे।

प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको बताउँदै परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा आउनुको विकल्प नरहेको चर्चा गरे। ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं।’

प्रचण्डले परिवर्तनकारी  शक्तिहरु एकै ठाउँमा आउने वातावरण पनि बनिरहेका बताए। उनले परिवर्तनमा कर्मचारीको पनि उल्लेख्य भूमिका रहेको बताउँदै कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार रहेको बताए। ‘परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी संगठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्वपूर्ण आवश्यकता हो।’

 
 

प्रतिक्रिया