साइकलबाट लडे अमेरिकी राष्ट्रपति (भिडियोसहित)

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो वाइडेन शनिबार साइकलबाट लडेका छन्। साइकल चलाइरहेको बेला सन्तुलन बिग्रिएपछि उनी लडेका थिए। उनीसँग रहेको सुरक्षा दस्ताले तुरुन्त उनको सहयोग गरेको थियो। 

वास्तवमा उनको जुत्ता साइकलको पाइडलमा अड्किएपछि घटना भएको थियो। साइकल रोक्न खोज्दा सन्तुलन मिलाउन नसकेपछि उनी लडेका थिए। आफ्नो सुरक्षा दस्ताको सहयोगले भूईबाट उठेपछि उनले भने, ‘म ठिक छु।’

ह्वाइट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपतिले साइकलबाट उत्रिने क्रममा जुत्ता पाइडलमा अड्केको आफूहरूलाई बताएको जानकारी दिए। वाइडेनको स्वास्थ्य राम्रो भएको र उनलाई मेडिकलको आवश्यकता नभएको ह्वाइट हाउसले बताएको छ। वाइडेन आफ्नो परिवारसँगै बस्ने छन्। घटनाको भिडियो सोसल मिडियामा भाइरल भएपछि थुप्रै प्रतिक्रिया आएको छ। 

 

७९वर्षका वाइडेन यतिबेला अमेरिकाको डेलावेयर राज्यमा छुट्टि बिताउन गएका छन्। उनी आफ्नो श्रीमतीसँग विवाह उत्सव मनाउन आएका छन्। वाइडेन आफ्नो श्रीमती जिल वाइडेनसँग रेहोबोथ समुन्द्री किनारको स्टेट पार्कमा साइकल चलाइरहेका थिए। यतिबेलै घटना भएको हो। 

राष्ट्रपति वाइडेनको स्वास्थ्य अवस्थालाई लिएर पहिलेदेखि नै विपक्षी रिपब्लिकन पार्टीले प्रश्न उठाउदै आइरहेको छ। गत महिना पनि उनी आफ्नो आधिकारीक प्लेन एयरफोर्स– १ को सिढी चढ्ने बेला भूईमा लड्न लागेका थिए। 

यस्तै, घटना गत वर्ष अटलान्टामा भएको थियो। यतिबेला पनि उनी प्लेनको सिढी चढ्ने क्रममा तीन पल्ट लड्न लागेका थिए। पछि उनले तीब्र हावाको बेगका कारण यस्तो भएको प्रष्टीकरण दिएका थिए। 
 

प्रतिक्रिया