दृश्य टिभी: ओम अस्पताल, चाबहिल, काठमाडौंकी सिनियर डाइटिसियन नानी शोभा शाक्यले स्वस्थ जीवन बिताउनका लागि प्राकृतिक जीवनशैली र स्वस्थकर खानेकुराको उत्तिकै भूमिका रहने बताएकी छन् ।

‘प्राकृतिक जीवनशैली अपनाएको खण्डमा त्यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन प्रभावकारी भूमिका खेल्छ । त्यसका साथै पोषिलो खानेकुराले रोगसँग जुध्ने क्षमता विकास हुन्छ,’ दृश्य टिभीसँग आफ्ना अनुभव सुनाउँदै उनले भनिन् । तीन दशकभन्दा बढी समय शिक्षण अस्पतालमा डाइटिसियनको रुपमा सेवा गरिसकेकी शाक्य नेपाल डाइटिसियन एशोसिएसनकी अध्यक्ष समेत हुन्।

रोग लागिसकेर अनेक समस्या झेल्नुभन्दा रोग लाग्न नदिनका लागि प्रयत्न गर्नु उचित हुने उनको सुझाव छ । ‘पछिल्लो समय नसर्ने रोगको प्रकोप बढेको छ । मधुमेह, प्रेसरजस्ता समस्या घरघरमा देखिन थालेको छ । युवाहरुमा पनि मुटुरोग देखिन थालेको छ । रोग लागेपछि आर्थिक भार बढ्नुका साथै अनेक तनाव खेप्नुपर्छ,’ उनले भनिन् ।

युवापिँढीले खानपानमा ध्यान नदिने गरेको उनको अनुभव छ । ‘प्रविधिको विकाससँगै विज्ञापन गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ । आकर्षक विज्ञापन तथा प्रचार शैलीले गर्दा युवा पुस्ता प्रशोधित जंक फुडतर्फ आकर्षित भइरहेको अवस्था छ,’ शाक्यले उल्लेख गरिन् । पोषण शिक्षालाई व्यवहारमा उतार्न नसक्दा कतिपय मानिस अनेक रोगको सिकार हुनुपरेको र त्यसबाट अनावश्यक खर्च वहन गर्नुपरेको उनले बताइन् । पोषण शिक्षालाई स्कुल तहदेखि नै व्यावहारिक ढंगले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

व्यापारीहरुको गलत विज्ञापन शैलीले पोषिलो खानेकुरा छुट्याउन गाह्रो भएको उनले जनाइन् । ‘व्यापारीहरुको आकर्षक प्याकेजिङ र आक्रामक विज्ञापन रणनीतिले गर्दा उपभोक्तालाई वास्तविक पोषिलो खानेकुरा छान्न अप्ठ्यारो पर्छ । उपभोक्ताहरु विज्ञापन पछाडि लागेर प्याकेटकै खानेकुराको पछाडि लाग्ने प्रवृत्ति बढ्दो छ,’ उनले भनिन् । बजारमा स्वस्थकर खानेकुराको अभावले समस्या सिर्जना गरेकाले सरकारले नियमित अनुगमन गर्नुपर्ने उनको सल्लाह छ ।

हामीकहाँ कुपोषण र मोटोपनको समस्या देखिँदै आएकोमा पछिल्ला दिनहरुमा माइक्रो न्युट्रिअन्ट्स (भिटामिन, मिनरल्स आदि) को अभावबाट सिर्जित स्वास्थ्य समस्याहरु बढ्दै गएको शाक्यले बताइन् । दृश्य टिभीसँग कुराकानी गर्दै उनले मुटु रोग, ग्यास्ट्राइटिस, मधुमेह, रक्तचाप आदि रोगबाट बच्न र यदि त्यस्ता रोग लाग्यो भने रोकथामका लागि अपनाउनुपर्ने जीवनशैली र खानपानबारे आफ्ना अनुभव सुनाएकी छन् । हेरौं–पूरा भिडियो ।

 

प्रतिक्रिया