प्रचण्डले ओलीलाई जिम्मेवार देखाए

काठमाडौं। अहिले सर्वाधिक चर्चामा ल्याईएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सम्झौता गरेको अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। 

पाँच दलीय सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले अध्यक्ष  ओली नेतृत्वको सरकारले अमेरिकासँग सो सम्झौता गरेको उल्लेख गर्दै वर्तमान सरकार त्यसका लागि जवाफदेही नभएको स्पष्ट पारेका छन्।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (क. प्रताप) को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले एसपीपीबारे आफ्नो कुरा प्रष्ट पारेका हुन्।

अध्यक्ष दाहालले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा   ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए। अध्यक्ष दाहालले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको पनि बताए।

दाहाले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने बताए। अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गरे।

अध्यक्ष दाहालले गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने बताए। उनले नेपालको समृद्धि र विकासको यात्रा पनि सहमति र सहकार्यबाट गर्ने बताए। उनले एक्लै अघि बढ्ने अहंकार र निरंकुशता र अराजकता सबैले तोड्न आवश्यक रहेको पनि बताए।
 

प्रतिक्रिया