जिरीमा जिल्ला लिग फुटबल


शम्भु गौतम
दोलखा, मंसिर ७: दोलखा जिल्लाको पर्यटकीय नगरी जिरीमा दोलखा जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । 


दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा टाइगर टिम तिखातलले परिवर्तनका लागि युवा पाइलाहरुलाई २–० गोल अन्तरअले पराजित गरेको छ । 


त्यसैगरी आजै भएको दोस्रो खेलमा जिरी स्पोर्ट्स क्लबले दोलखा युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ भने तेस्रो खेलमा एक्टिभ व्वाइज क्लब र चरिकोट सिटी क्लबले १–१ को बराबरी खेलेका छन् । 


प्रतियोगिताको फाइनल खेल यही मंसिर ११ गते बिहान हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिातमा कुल ७ टिम सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले ८० हजार रुपैयाँ र दोस्रो हुने टिमले ४० हजार रुपैयाँ पुरस्कार, शिल्ड र मेडल पाउनेछन् । 


प्रतियोगिताको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले हारजित खेलको मुख्य विषय भए पनि खेलाडीहरुले अनुशासनलाई प्राथमिकता दिएर जितमा अग्रसर हुनुपर्ने बताए । उनले जिल्लाका ९ वटै पालिकाहरु खेलकुदको विकासमा लागिपरेको सुनाए । 


दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गाविन्दमान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठ, युवा परिषद् केन्द्रीय सदस्य श्यामसुन्दर शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशका महासचिव कृष्ण बस्नेत, जिल्ला खेलकुद संघका अध्यक्ष रोहित खड्काले शुभकामना मन्तव्य राखेका थिए । 


जिरीको बुलडाँडास्थित सहिद आवासीय माविको खेदमैदानमा भएको यो प्रतियोगितालाई हाइअल्टिच्युड प्रतियोगिताको पनि नाम दिइएको छ । सो खेलमैदान करिब २४ सय मिटरको उचाइमा अवस्थित छ । 


प्रतियोगिताको उद्घाटन कार्यक्रमको असवरमा खेलकुदमा सहयोग गरेको भन्दै युवा व्यवसायी श्यामसुन्दर शिवाकोटी र वरिष्ठ पत्रकार शम्भु गौतमलाई सम्मान गरिएको छ । खेलकुदका लागि आर्थिक सहयोग गरेको भन्दै शिवाकोटी र फोटोपत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा सहयोग पु¥याएको भन्दै गौतमलाई सम्मान गरिएको हो । 
 

प्रतिक्रिया