बर्दिया पुगेर प्रचण्डले मिति तोकेपछि

काठमाडौं। सत्ता गठबन्धनका एक नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिदिएका छन्। उनले आउँदो मंसिरमा निर्वाचन हुने बताएका हुन्। 

गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा भने त्यसको तीन महिनापछि मात्र दुवै तहको निर्वाचन गराउन निकटस्थ रणनीतिकारसँग परामर्शमा व्यस्त छन्। स्थानीय निर्वाचनमा विथोलिएको संगठनलाई सेलाउन दिएर मात्र प्रतिनिधिसभाको निर्वाचन गराउन पाए क्षति कम हुने प्रधानमन्त्री देउवाको विश्लेषण रहेको बुझिएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने गठबन्धनभित्र कुनै छलफल समेत नगरी निर्वाचन हुने मिति घोषणा गरिदिएका छन्। यसले गठबन्धनभित्रको असन्तोष चर्काउने बताईएको छ।

अहिले गठबन्धन दलहरु विश्वासको संकट झेलिरहेका छन्। प्रचण्डका सार्वजनिक भनाइ विश्वासको संकट बढाउन केन्द्रित देखिन्छन् भने अरु दलहरु सत्ताको भाग बढाउन दौडधुपमा देखिन्छन्। प्रधानमन्त्री देउवा सत्ताको तराजुमा सबैलाई जोखेर बसेका छन्। छटपटाएका सत्ता साझेदार दलका अभिव्यक्तिमा कुनै प्रतिक्रिया नजनाईकन देउवाले उनीहरुलाई तौलिरहेको उनी निकट सूत्र बताउँछ।

गठबन्धन आवश्यकता कि वाध्यता भनेर बहस पनि जारी छ। विपक्षी दल नेकपा एमालेले गठबन्धनका वामपन्थी दलहरुको नाडी छाम्ने प्रयाश गरिरहेको बुझिएको छ। प्रचण्ड र माधवकुमार नेपालकहाँ बेग्लाबेग्लै दूत पठाएर अध्यक्ष केपी शर्मा ओलीले उनीहरुको मनस्थिति परीक्षण गर्ने कोशिस गरिसकेका छन्। दुवै नेताको आनीबानीसँग चिरपरिचित ओलीले उनीहरुलाई ठूलै राजनीतिक अफर गर्दा हल्लाउन सकिएला कि भनेर एक धक्का मारिसकेका छन्। तर यसपटक ओलीको प्रयाशको सकारात्मक असर पर्न नसकेको बताईन्छ। प्रचण्ड र नेपालका लागि गठबन्धन आवश्यकता पनि वाध्यता पनि दुवै रहेको प्रधानमन्त्री निकट सूत्रको दावी छ। स्थानीय निर्वाचनमा प्रचण्डले चाहे भन्दा बढी पाएको र नेपालले अस्तित्व नै जोगाएको सूत्रको विश्लेषण छ। सत्ताको प्रलोभनमा उनीहरु वामपन्थी एकताको भुलभुलैयामा परे भने दुवैको हैसियत बेलुनको हावा खुस्किएजस्तै हुने सूत्रको भनाई छ।

एकिकृत समाजवादीका नेता नेपालले आगामी निर्वाचन अघि गठबन्धनको विकल्प सोच्न पनि नसकिने र सरकारको नेतृत्व पनि यथावत रहने नेपाली कांग्रेसका एक नेतासँगको भेटमा बताएको थाहा भएको छ।

प्रचण्डले आज बर्दियाको बेलभार पुगेर मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकेसम्म एकै चरणमा सम्पन्न  हुने बताएर गठबन्धनको आन्तरिक एकतामाथि आँच पुर्याएको बताएको छ। निर्वाचनबारे प्रधानमन्त्री शेरबहादु देउवा र गठबन्धन दलका नेताहरूसँग छलफल भइरहेको र मंसिर पहिलो साता निर्वाचन गर्ने विषयमा सबै सकारात्मक रहेको उनको दावी छ।

गठबन्धनभित्र मंसिर पहिलो साताभित्र सकेसम्म एकै चरणमा निर्वाचन गर्नेबारे कुराकानी भइरहेको र मंसिर पहिलो साता वा कात्तिक अन्तिम साता निर्वाचन गर्नुपर्ने कुरा प्रतिपक्षले पनि उठाएको प्रचण्डको भनाई छ।

स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभाको एकै चरणमा गर्न सहज हुन्छ कि हुँदैन भन्ने छलफल चलिरहेको जानकारी दिए। ‘सुरक्षाका दृष्टिले दुई चरणमा गर्ने भन्ने कुरा आइरहेको छ,’ उनले भने, ‘जे भए पनि मंसिरमा चुनाव हुन्छ।’
 

प्रतिक्रिया